
काठमाडौँ । बैतडीका ३ वटा स्थानीय तहका विद्यालयहरुमा किशोर किशोरीमैत्री सूचना केन्द्र सञ्चालनमा आएका छन् ।
पाटन नगरपालिका, सुर्नया र डिलाशैनी गाउँपालिकाका विभिन्न विद्यालयमा सञ्चालनमा रहेका सूचना केन्द्र सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको नेपाल परिवार नियोजन सङ्घका वरिष्ठ शाखा प्रबन्धक वासुदेव विष्टले बताए ।
किशोरकिशोरीमैत्री सूचना केन्द्रले विद्यार्थीलाई यौन तथा प्रजनन स्वास्थ्यका धेरै विषयमा र बृहत् यौनिकता शिक्षाका विषयमा समेत जानकारी दिने गरेको सुर्नया गाउँपालिकाका उपाध्यक्ष मञ्जु बोहराले बताइन् ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, अष्ट्रेलियन एड र नेपाल परिवार नियोजन सङ्घको सहयोगमा किशोरकिशोरीमैत्री सूचना केन्द्र सञ्चालन भइरहेका छन् । अहिले ती केन्द्र स्थानीय तहलाई हस्तान्तरण थालिएको छ ।
केन्द्रलाई निरन्तर रूपमा सञ्चालन गरिने डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । उनले भने , ‘यौन तथा प्रजनन स्वास्थ्यका विषयमा रहेका गलत धारणा हटाउन यी केन्द्रले सहयोग गर्नेछन् । समाजमा रहेका विभिन्न हानिकारक चलन हटाउन पनि केन्द्रले अब भूमिका खेल्ने छ ।’
केन्द्रका लागि विद्यालयमा एउटा छुट्टै कोठा व्यवस्थापन गरेर किशोरकिशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्यका विषयमा अध्ययन गर्न सक्ने विभिन्न पाठ्यसामग्री राखिन्छन् । उक्त केन्द्रमा किशोरकिशोरीले आफ्ना समस्याका विषयमा खुलेर छलफल गर्ने जनाइएको छ ।