
काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको छोरी र संविधानसभाका अध्यक्ष स्वर्गीय सुवास नेम्बाङकी भान्जी हुँ भन्दै झुटा विवरण दिएर नक्कली नागरिकता समेत बनाएकी इलामकी युवन्तिका राईलाई युवा संघले पार्टीबाट निलम्बन गरेको छ ।
प्रधानमन्त्री ओली सहभागी हुने सार्वजनिक कार्यक्रमहरुमा ओलीको नजिक देखिने गरेकी युवन्तिकाले ओलीसँगको निकटता प्रदर्शन गरेर सर्वसाधारणलाई ठग्दै हिडेको युवा संघमा उजुरी परेको हो । यस्तो उजुरी परेपछि आवश्यक छानविन गर्दा युवन्तिकाको संलग्नता देखिएपछि उनलाई निलम्बन गरिएको संघका महासचिव महेश चौलागाईंले जानकारी दिए ।
‘उहाँ (युवन्तिका) ले सरकारी कोटामा विदेश पठाइदिन्छु भन्दै केही मान्छेसँग रकम लिएर ठगी गरेको भन्ने उजुरी पनि परेको थियो । यससम्बन्धमा छानविन गर्दा उहाँको संलग्नता देखियो । उहाँलाई सोधिएको स्पष्टिकरण पनि चित्तबुझ्दो भएन । आचरणसँग जोडिएका अन्य विषय पनि रहे । यसैकारण उहाँलाई निलम्बन गरिएको हो । यसको जानकारी साउन ९ गते पत्र पठाएर गराएका छौं,’ महासचिव चौलागाईंले वडापालिकासँग भने ।
स्रोतका अनुसार उनले प्रधानमन्त्री ओलीसँगको निकटता देखाएर सरकारी कोटामा विदेश पठाइदिन्छु भन्दै सर्वसाधारणसँग रकम लिने गरेकी थिइन् । यसरी रकम लिएर पनि विदेश नपठाएपछि शोभा राईले युवा संघ केन्द्रीय कार्यालयमा उजुरी दिएकी थिइन् । युवन्तिकाले शोभा राईसँग ३ लाख ५० हजार रपैयाँ लिएको र त्यसमध्ये ३ लाख रुपैयाँ फिर्ता गरेपनि बाँकी ५० हजार रुपैयाँ भने फिर्ता नगरेर ठगी गरेको निवेदनमा उल्लेख छ ।
यस्तो छ युवन्तिकाको विगत
युवन्तिका एक विवादास्पद व्यक्ति हुन् । उनी आफ्नो स्थायी ठेगाना इलामको सूर्याेदय नगरपालिका–१० फिक्कल हो भन्छिन् । तर, उनले २०६८ साल भदौ २८ गते झुटा विवरण दिएर चितवन जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाएकी थिइन् । सो नागरिकता बनाउन उनले आफ्नो बाबुको नाम छविलाल तामाङ हो भनेकी थिइन् भने आफ्नो नाम युवन्तिका तामाङ बनाएकी थिइन् । चितवन जिल्ला प्रशासन कार्यालयबाट लिइएको नागरिकतामा उनको स्थायी ठेगाना साविक कठार गाविस–९ चिवतन हो ।
उनले यसरी झुटो विवरण दिएर नागरिकता बनाएको थाहा पाएपछि उनको बाबु बनाइएको छविलाल तामाङले प्रहरीमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा युवन्तिकाले झुटो विवरण दिएर नागरिकता बनाएको फेला पारेको थियो । त्यसपछि चितवन जिल्ला अदालतमा दायर भएको मुद्दा उनले हारेकी थिइन् । अर्थात गत फागुन ६ गते जिल्ला न्यायाधीश केदारनाथ पौडेलको इजलासले युवन्तिकाले झुटो विवरण दिएर नागरिकता बनाएको फैसला गरेको छ ।
यद्यपि, सो मुद्दा प्रभावित पार्न युवन्तिकाले अनेक तिकडम गरेकी थिइन् । उनको पक्षबाट वहस गर्ने वकिल कमल पाठक पनि थिए । पाठक नेकपा एमाले जिल्ला कमिटी चितवनका अध्यक्ष हुन् । युवन्तिकाको झुटो विवरण दिएर नागरिकता बनाएको सम्बन्धी मुद्दाको पेशी लगातार २३ पटकभन्दा बढी समय पेशीमा चढेर पनि सरेको थियो ।
जिल्ला अदालत चितवनको फैसलाले युन्तिकाको नागरिकता खारेज भएपनि उनी सोही नागरिकताको आधारमा शक्तिको आडमा एमालेको भातृ संगठन युवा संघको केन्द्रीय सदस्य बनेकी थिइन् । सोभन्दा अगाडि पनि उनी झुटा विवरण दिएर बनाएको अर्थात युवन्तिका तामाङको नागरिकता बोकेर आफूलाई युवन्तिका राईको नाममा परिचित गराउँदै नेकपा एमाले इलाम जिल्ला कमिटीको सदस्य बनेकी थिइन् ।
अर्ब दाबीको मुद्दा लड्दै, लाख ठग्दै !
झुटो विवरण दिएर नागरिकता बनाउने, एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सामाप्यता देखाएर लाभ लिने जस्ता वानी विकास गरिसकेकी युवन्तिका विश्वचर्चित हिमाल आरोही निर्मल पुर्जा पनि संलग्न रहेको कम्पनीसँग अंश मुद्दामा छिन् ।
२०७९ असोज ५ गते काठमाडौँको कपनमा भीषण आगलागी भयो । सो आगलागी कपनमा रहेको इलाइट हिमालय एक्सपिट ट्रेकको कार्यालयमा भएको थियो ।
सो आगलागीमा ताप्लेजुङ घर भएका २९ वर्षीय तेन्जिङ शेर्पा, सोलुखुम्बु घर भएका २४ वर्षीय छेवाङ शेर्पा र संखुवासभा घर भएका ३२ वर्षीय अशोक राईको मृत्यु भयो ।
आगलागीमा परेर ज्यान गुमाउनेमध्ये तेन्जिङ शेर्पा सो ट्रेकका साझेदार मिङ्मा डेविड शेर्पाका भाइ हुन् । तेन्जिङ सो ट्रेकमा नै काम गर्थे । उनी पनि आरोही हुन् । तेन्जिङ आगलागीमा परेर निधन भएपछि युवन्तिकाले तेन्जिङ आफ्नो श्रीमान रहेको दाबी गरेर उनका दाजुसँग अंश मुद्दा हालेकी हुन् ।
इलाइट हिमालय एक्सपिट ट्रेक सगरमाथा आरोहणको लागि नेपालको प्रख्यात ट्रेकिङ कम्पनी हो । कीर्तिमानी आरोही निर्मल पुर्जा पनि संलग्न रहेको यो कम्पनी नेपालवाहेकका देशमा पनि काम गर्छ ।
तेन्जिङको मृत्युपछि युवन्तिका आफूलाई उनको श्रीमती दाबी गर्दै मिङ्मासँग सम्पत्ति दाबी गर्न थालिन् । यसको लागि उनले प्रमाण बनाउने कार्य सुरु गरिन् ।
तेन्जिङसँग विवाह भएको दाबी गरेर युवन्तिका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ पुग्छिन् । किनभने तेन्जिङको स्थायी ठेगाना नै त्यही थियो । सो वडामा उनले ७ कात्तिक, २०७९ मा तेन्जिङसँग नाता प्रमाणितको लागि निवेदन दिन्छिन् । युवन्तिकाको निवेदन अनुसार वडाध्यक्ष पेमा टासी शेर्पाले युवन्तिका र तेन्जिङको नाता प्रमाणित प्रमाणपत्र दिन्छन् । यद्यपि, उनीहरुको विवाह दर्ता भएको हुँदैन । तेन्जिङको निधन भएको ४६ दिनपछि वडाध्यक्ष शेर्पाले युवन्तिका तेन्जिङको श्रीमती रहेको प्रमाणित गरिदिन्छन् ।
तेन्जिङसँगको नाता प्रमाणित गर्न पनि युवन्तिकाले झुटको सहारा लिएको पाइएको छ । वडा कार्यालयमा नाता प्रमाणित गर्नको लागि सर्जमिन गर्नुपर्ने भएपछि युवन्तिकाले तेन्जिङका गाउँमै रहेका दाजु र दिदीलाई आर्थिक प्रलोभन लिएर तेन्जिङ–युविन्तका विवाह भएको निवेदन वडामा दिन लगाएकी थिइन् ।
‘तेन्जिङले ठूलो रकमको बीमा गरेको छ । त्यसमध्ये १४ करोड रुपैयाँ आउँछ । यो रकम झिक्नको लागि म (युवन्तिका)सँग विवाह गरेको थियो भन्ने प्रमाण चाहिन्छ । त्यति प्रमाण हुने वित्तिकै १४ करोड रुपैयाँ आइहाल्छ । त्यो १४ करोड रुपैयाँ मलाई चाहिदैन । त्यत्रो पैसाको मलाई काम पनि छैन । तपाईहरुले ७ करोड रुपैयाँ लिनुहोला । मलाई ७ करोड रुपैयाँ भए भइहाल्छ भनेर तेन्जिङका दाजु र उनकी दिदीलाई फकाइछन् । गाउँका सोझा सिधा मान्छेले होला नि त भनेर युवन्तिकाले भनेको ठाउँमा सही गरिदिएछन् । सोही विवरणका आधारमा उनले वडाबाट तेन्जिङसँगको विवाह दर्ता गरी नाता प्रमाणित गरिछिन् । त्यसपछि काठमाडौँ गएर मुद्दा गरेकी रहिछन्,’ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६का एक स्थानीयले वडापालिकासँग भने ।
तेन्जिङका दाजु मिङ्मासँग युवन्तिकाको अंश मुद्दा सकिएको छैन ।
के हुन्छ सगरमाथा आरोहणको प्रमाणपत्र ?
युवन्तिकाले आफू युवन्तिका राई भएको भन्दै २०७९ सालको बैशाख अन्तिम साता सगरमाथाको सफल आरोहण गरेकी थिइन् । उनले आफ्नो स्थायी ठेगाना इलामको सूर्याेदय नगरपालिका–१० फिक्कल हो भनेर विवरण दिएकी थिइन् ।
तर, सो समयमा उनको नागरिकतामा उनको स्थायी ठेगाना साविक कठार गाविस–९ चितवन थियो । झुटा विवरण दिएर नागरिकता बनाएको तथ्य खुलेपछि जिल्ला अदालत चिवतवनको आदेशले उनको नागरिकता बदर भइसकेको छ ।
युवन्तिकाको नागरिकता बदर भएपनि उनले सरमाथा आरोहण गरेको प्रमाणपत्र भने के हुन्छ भन्ने गम्भीर प्रश्न उठेको छ ।
यस्ता छन् युवन्तिकाका झुटका श्रृंखला
झुट नम्बर–१ः नागरिकता फ्रड
इलामको सूर्योदय नगरपालिका–१० की युवन्तिका राई नागरिकता बनाउने समयमा युवन्तिका तामाङ बनिन् । यसका लागि उनले नयाँ बाबुआमा बनाइन् ।
२०६६ सालतिर काठमाडौँ आएकी युवन्तिका त्यतिबेला १४/१५ वर्षकी थिइन् । काठमाडौँ आएर उनी होटलमा वेटरको काम गर्थिन् ।
२०६८ सालको कुरा हो– मैतीदेवीको पोटला रेष्टुरेन्टमा वेटरको काम गरिरहेकी युवन्तिकाको भेट चितवनको तत्कालिन कठार गाविस–९ का किशोर तामाङसँग हुन्छ ।
किशोर तामाङ म्यानपावर एजेन्ट हुन् । उनकै सल्लाहमा युवन्तिका विदेश जाने योजनामा पुग्छिन् ।
तर, युवन्तिकासँग नागरिकता हुँदैन । नागरिकता नबनाइ पासपाटेर्ट बन्दैन । पासपोर्ट नबनी बिदेश जान पाइदैन ।
नागरिकता बनाउन युवन्तिका इलाम पुग्छिन् । इलामा पुगेपछि बल्ल थाहा हुन्छ– उनका बाबु प्रकाश राईले नै नागरिकता बनाएको हुँदैन । बाबुकै नागरिकता नभएपछि उनको बन्ने कुरै भएन । हो यही बिन्दुबाट सुरु हुन्छ युवन्तिकाको झुटको श्रृंखला ।
युवन्तिका र किशोर तामाङ झुटा विवरण दिएर नागरिकता बनाउने बाटोमा लाग्छन् । किशोरले आफ्ना बाबुआमालाई युवन्तिकाको बाबुआमा बनाएर नागरिकता दिलाई दिन्छन् ।
कानुनी प्रक्रिया पूरा गरेर युवन्तिकाले २०६८ भदौ २८ गते बंशजको आधारमा नागरिकता लिन्छिन् । नागरिकतामा बाबु छविलाल तामाङ र आमा लक्ष्मीमाया तामाङको नाम रहन्छ ।
अब कानुनी रुपमा उनको जन्मस्थान– कठार गाविस–९, चितवन भयो । किशोर तामाङ उनका दाजु भए । यो हो युवन्तिकाको सबैभन्दा पहिलो र डरलाग्दो झुट ।
झुट नम्बर–२ नक्कली राहदानी
युवन्तिका राईले झुटो विवरण दिएर नागरिकता बनाइन् । उनको ठेगाना झुटो भयो, बाबुआमा झुटा भए र उनको थर पनि झुटो भयो । किनभने उनी युवन्तिका राई थिइन् । युवन्तिका तामाङ हूँ भनेर नागरिकता बनाइन् ।
यही झुटो विवरणका आधारमा बनेको नागरिकता देखाएर उनले पासपोर्ट बनाइन् । पासपोर्टमा नाम पनि युवन्तिका तामाङ नै रह्यो । झुटो विवरणका आधारमा पासपोर्ट बनाएर उनी विदेश गइन् ।
झुट नम्बर–३ ठेगाना ढाँटेर उठाइयो चन्दा
युवन्तिकाले आफूलाई इलामको बासिन्दा दाबी गरिन् । जबकि उनी आफैले आफू चितवनको कठार–९ की युवन्तिका तामाङ भएको भन्दै नागरिकता बनाएकी थिइन् । आफूलाई चितवनको स्थायी बासिन्दा भएको विवरण दिएर नागरिकता र पासपोर्ट बनाएकी युवन्तिकाले इलामको सूर्योदय नगरपालिका–१० फिक्कलकी हूँ भन्दै इलामका १० वटै स्थानीय तहसँग सगरमाथा चढ्न सहयोग मागिन् ।
अर्थात, युवन्तिकाले संघीय सरकार मात्रै होइन, स्थानीय सरकारलाई पनि झुटो विवरण लिएर लाभ प्राप्त गरिन् ।
झुट नम्बर–४ सर्वोच्च शिखर सगरमाथामाथि बेइमानी
युवन्तिकाले झुटो विवरण दिएर बनाएको नागरिकताको आधारमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरिन् । उनले नेपाली नागरिकको हैसियतमा सगरमाथा आरोहण गरेकी हुन् । जबकि उनले झुटो विवरण दिएर नागरिकता बनाएकोले उनको नागरिकता नै झुटो हुने भयो । यस्तो अवस्थामा उनको नागरिकता कायम हुदैन । झुटो विवरणको आधारमा तयार गरेको नागकिरताका आधारमा सगरमाथा पुगेपछि उनको यो आरोहणको बैधानिकता पनि कायम नहुने नै भयो । यो हिसावले उनले देशलाई मात्र होइन सगरमाथामाथि समेत बेइमानी गरिन् ।
झुट नम्बर–५ कर छल्न क्लाइम्बिङ गाइड
युवन्तिकाले क्लाइम्बिङ गाइड हुँ भनेर सगरमाथा आरोहण गरिन्, जबकि उनी क्लाइम्बिङ गाइड नै होइनन् । गाइडको रुपमा जादा शुल्क कम लाग्छ । युवन्तिकाले एस्ट्रेक इको–एभरेष्ट एण्ड सिचुआन एक्मी एक्स्पिडिसन २०२२ नामक पर्वतारोही दलबाट सगरमाथाको आरोहण गरेकी थिइन् । राजस्व छलि गर्ने उद्देश्यले उनी क्लाइम्बिङ गाइडको रुपमा सगरमाथा चढिन् । फेरि देश र सगरमाथामाथि बेइमानी गरिन् ।
झुट नम्बर–६ एमाले र युवा संघलाई पंगु
युवन्तिकाले एमाले भातृ संस्था राष्ट्रिय युवा संघलाई पनि ढाँटेकी छन् । उनको घर सूर्योदय नगरपालिका–१० हो भने उनी युवन्तिका राई हुन् । र, युवन्तिका तामाङ हुन भने उनको ठेगाना चितवनको कठार हो । तर, उनले इलाम नगरपालिका–१० फिक्कल घर भएको र नाम युवन्तिका तामाङ हो भन्दै युवा संघको केन्द्रीय सदस्य बनिन् । युवासंघ र एमालेले उनको यो बठ्याइको पत्तो नै पाएन ।
झुट नम्बर–७ अध्यागमनलाई चक्मा
युवन्तिकाले झुटो विवरणको आधारमा बनाएको पासपोर्ट बोकेर विदेश गइन् । नेपाल हुँदै बिदेशका अध्यागमन कार्यालय र सम्वनिधत देशसमेतलाई उनले नमज्जाले झुट बोलिन् ।
युवन्तिकाले यसरी झुटमाथि झुट बोलेर फाइदा लिएपनि एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उनको झुटबारे जानकारी पाउन सकेका छैनन् । किनभने युवन्तिका अझै पनि आफूलाई प्रधानमन्त्री ओली निकट भनेर चिनाउन अनेक हर्कत गरिरहेकी छिन् । एमाले अध्यक्ष ओली अन्य विषयमा मौन रहन सके पनि झुट बोल्ने, देशमाथि गद्दारी गर्ने र राजस्व छलि गर्नेविरुद्ध निर्मम हुन्छन् भनेर उनी निकट बताउँछन् ।
झुट नम्बर ८– गलत विवरण दिएर इलाम नगरपालिकाबाट सहयोग
युवन्तिकाले आफू इलामको चेली भएको र सगरमाथा आरोहण गर्न लागेको भन्दै इलामका स्थानीय तहरुलाई आर्थिक सहयोग गर्न अनुरोध गरेकी थिइन् । तर, उनले झुटो विवरण दिएर नागरिकता बनाएकोले न उनी इलामको थिइन, न त नेपाली नागरिक नै ।
झुटो विवरण दिएर चितवन स्थायी ठेगाना हो भन्दै नागरिकता बनाएकी युवन्तिकाले आफू इलामको नागरिक हो भन्दै इलाम नगरपालिकाबाट २ लाख रुपैयाँ लिएको तथ्य खुलेको छ । उनले आर्थिक वर्ष २०७८/७९ मा सगरमाथा आरोहणको लागि सहयोग भन्दै सो रकम लिएकी हुन् ।
यद्यपि, सगरमाथा आरोहण गर्ने बेलामा उनी क्लाइम्बिङ गाइडको रुपमा आरोहण गरेकी थिइन् भने उनको ठेगाना इलाम हो भने उनको नाम युवन्तिका राई हुनुपर्ने थियो । तर, उनको नागरिकतामा चितवनको कठार गाविस–९ स्थायी ठेगाना उल्लेख थियो भने नाम युवन्तिका तामाङ थियो । इलाम नगरपालिकाबाट २ लाख रुपैयाँ लिन उनले आफ्नो नाम युवन्तिका तामाङ नै रहेको उल्लेख गरेकी छिन् ।
किन दिएन उनकै पालिकाले ?
युवन्तिकाले सगरमाथा आरोहण गर्नको लागि भन्दै इलामका सबै स्थानीय तहलाई आर्थिक सहयोग गर्न पत्राचार गरिन् । इलाम नगरपालिकाले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको पुष्टी भइसकेको छ । र, पुष्टी भएको अर्को कुरा के छ भने उनकै जन्मस्थान भनिएको सूर्योदय नगरपालिकाले भने युवन्तिकालाई आर्थिक सहयोग गरेन ।
युवन्तिकालाई आर्थिक सहयोग गर्न तयार भएपनि उनको नागरिकतामा कैफियत देखिएको र उनलाई सहयोग गर्ने शिर्षक पनि नभेटिएको भन्दै सूर्योदय नगरपालिकाले आर्थिक सहयोग नगरेको स्रोतले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
- राज्य संयन्त्रलाई यसरी ढाँटिरहेकी छिन् केपी ओलीकी ‘छोरी’ र सुवास नेम्वाङकी ‘भान्जी’ युवन्तिका
- युवन्तिकाका झुट श्रृङ्खलाः कानुनमा तामाङ, व्यवहारमा राई, यसरी ढाँटिन् सिडियो, पालिका र एमालेला