
काठमाडौँ । नेकपा एमालेका नेताहरुलाई झुटा परिचय दिएर राज्य संयन्त्रहरुलाई ढाटिरहेकी युवन्तिका तामाङ भनिने युवन्तिका राईको झुटको साम्राज्य सकिएको छ ।
एमालेका दिवंगत नेता सुभाषचन्द्र नेम्वाङको मार्ग भएर अध्यक्ष केपी शर्मा ओलीसम्म पहुच पुर्याएकी युवन्तिकाले झुटो विवरण दिएर नागरिकता बनाएको अभियोगमा चितवन जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।
आफ्नो स्थायी ठेगाना इलाम नगरपालिका–१० फिक्कल भएपनि युवन्तिकाले २०६८, भदौ २८ गते जिल्ला प्रशासन कार्यालय चितवनबाट ३५१००१/४५२ नम्बरको नागरिकता प्राप्त गरिन् । नागरिकतामा उनको नाम युवन्तिका तामाङ छ । चितवन जिल्ला न्यायाधीश केदारनाथ पौडेलको आज (फागुन ६ गते) इजलाशले युवन्तिकासमेतलाई कसुरदार ठहर हुने फैसला गरेको हो । यद्यपि, उनीमाथि के कस्तो सजाय हुने भन्ने ठहर भने अर्काे इजलासबाट हुनेछ ।
को हुन् युवन्तिका
युवन्तिकाका अनुसार उनका बुवा प्रकाश राई संखुवासभाको साविक दिदिङ्ग गाविस–३ सोबोकमा जन्मेका थिए । प्रकाश सानै छँदा इलाम आए । इलामको फिक्कलमा उनी कृष्णबहादुर तामाङको घरमा बसे । कृष्णबहादुरले नै प्रकाशको विवाह सोमे राईसँग गराइदिए । र, प्रकाश र सोमेका एकमात्र छोरी हुन् युवन्तिका । कृष्णबहादुरले दिएको जग्गामा घर बनाएर प्रकाशको परिवार बस्न लाग्यो । युवन्तिका भने कृष्णबहादुरको घरमा नै बस्ने गर्थिन् ।
युवन्तिका फिक्कलको मोर्डन बोर्डिङ स्कुलमा पढ्थिन् । २०६६ सालतिर भागेर काठमाडौँ आइन्, जतिबेला उनको उमेर १४/१५ वर्षको थियो ।
काठमाडौँ आएपछि युवन्तिका होटलमा काम गर्न थालिन् । २०६८ सालमा मैतीदेवीको पोटला भन्ने रेष्टुरेन्टमा वेटरको काम गर्दैगर्दा युवन्तिकाको चितवनका किशोर तामाङसँग भेट भएको थियो । अनि किशोर र युवन्तिका मिलेर झुटा विवरण दिएर नागरिकता बनाउने बाटोमा लागेका थिए ।
किशोर तामाङ मान्छे विदेश पठाउने एजेन्टको रुपमा काम गर्ने व्यक्ति हुन् । उनको घर चितवनको साविकको कठार गाविस–९ हो ।
किशोरले नै युवन्तिकालाई विदेश जाने कुरा गरेका थिए । किशोरको प्रस्ताव अनुसार युवन्तिकालाई साइप्रस जान लागेकी थिइन् । तर, त्यो बेलासम्म उनको नागरिकता नबनेको र बाबु प्रकाश राईको नै नागरिकता नबनेको जानकारी प्राप्त भएपछि किशोर र युवन्तिका मिलेर युवन्तिकालाई किशोरकी बहिनी बनाएर नागरिकता बनाइएको थियो ।
यसरी झुटा विवरण दिएर नागरिकता बनाएको जानकारी पाएपछि नागरिकतामा युवन्तिका बाबु बनाइएका किशोर तामाङका बाबु छविलाल तामाङले प्रशासनमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अदालतले आज उनको नागरिकता खारेज हुने फैसला गरेको हो ।
यसरी भत्किन्छ उनको झुटको साम्राज्य
युवन्तिकाले झुटो विवरण दिएर बनाएको नागरिकता प्रयोग गरेर पासपोर्ट बनाइकी छिन् । सोही नागरिकता बनाएर उनले सगरमाथाको आरोहण गरेकी छिन् भने सोही नागरिकताको आधारमा नेकपा एमाले इलाम जिल्ला कमिटि सदस्य बनेकी छिन् । यस्तै, उनले सम्पत्ति दाबी गर्नका लागि वडा कार्यालयबाट एक जना मृतक शेर्पासँग नाता कायमको कागज पनि बनाएकी छिन् ।
नेपाली नागरिकता पेश गरेर सगरमाथा आरोहण गरेको तर सो नागरिकता नै खारेज भयो भने उसले प्राप्त गरेको आरोहणको प्रमाणपत्र के हुन्छ भन्ने अहम प्रश्न बनेको छ । पर्यटन बोर्डका अधिकारीहरु अहिलेसम्म यस्तो विषय नआएकोले के हुन्छ भनेर तत्काल जवाफ दिन नसकिने बताउँछन् ।
‘नेपाली नागरिक र अन्य देशको नागरिकले सगरमाथा आरोहण गर्दा लाग्ने दस्तुर नै फरक छ । नेपाली नागरिक हुँ भनेर नागरिकता पेश गरेर सगरमाथा आरोहण गरेको छ तर त्यो नागरिकता नै झुटो विवरण पेश गरेर लिएको भनेर अदालतले खारेज गरिदियो भने उसले पाएको प्रमाणपत्र त खारेज हुन्छ होला । सँगै रोयल्टी पनि नेपाली नागरिकले तिरेकोभन्दा फरक हुने भएकोले त्यो कसुर पनि आकर्षित हुन्छ होला । यो पहिलो घटना भएकोले थप अध्यययनपछि मात्रै यसै हुन्छ भन्न सकिन्छ,’ विभागका निर्देशक लिलाधर अवस्थीले वडापालिकासँग भने ।
युवन्तिकाको नागरिकता सम्बन्धी फैसला आएपछि नेकपा एमाले जिल्ला कमिटिले उनलाई जिल्ला कमिटि सदस्यबाट हटाउने प्रक्रिया सुरु गरेको छ । एमाले जिल्ला किमिटी अध्यक्ष गणेश बरालले उनलाई पदबाट हटाउने बताए ।
‘हामीले पनि त्यस्तो सुनेपछि केही समयअघिदेखि अनुसन्धान थालेका थियौं । अदालतले नै उहाँ (युवन्तिका) को नागरिकता खारेज गरेपछि अब हामी उहाँलाई पदबाट बर्खास्त गर्छाैं,’ अध्यक्ष बरालले वडापालिकासँग भने ।
युवन्तिकाले झुटो विवरण दिएर बनाएको नागरिकताको आधारमा एक जना मृतक शेर्पासँग नाता प्रमाणितको कागज पनि बनाएकी छिन् । काठमाडौँको कपनमा आगलागीमा परि निधन भएका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ का तेन्जिङ शेर्पासँग उनले श्रीमती भएको नाता प्रमाणित गराएकी हुन् ।
युवन्तिकाले श्रीमान भनेर दाबी गरेका व्यक्ति तेन्जिङ शेर्पा हुन् । उनी इलाइट हिमालय एक्सपिट ट्रेकका साझेदार मिङ्मा डेविट शेर्पाका भाइ हुन् । सो ट्रेकको व्यवसायिक साझेदार किर्तिमानी आरोही निर्मल पुर्जा पनि हुन् । मिङ्मासँग सम्पत्ति दाबी गर्ने प्रयोजनले नै युवन्तिकाले तेन्जिङको निधन भएको ४६ दिनपछि विवाह दर्ताविनै श्रीमती कायम गरेर नाता प्रमाणितको कागज बनाएकी थिइन् । यसमा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ का वडाध्यक्ष पेमा टाशी शेर्पाले सहजीकरण गरेका थिए । तर, युवन्तिकाको नागरिकता नै झुटो विवरण दिएर बनाएको प्रमाणित भएपछि आफूले बनाइदिएको नाता प्रमाणितको कागजको औचित्य स्वतः समाप्त हुन्छ भन्ने आफूलाई लागेको वडाध्यक्ष शेर्पाले बताए ।
‘तेन्जिङको निधनपछि युवन्तिका बहिनी नाता प्रमाणित गरिदिनु पर्यो भनेर आउनु भएको थियो । सर्जिमिन गरी नाता प्रमाणित गरिदिएको हो । अब अदातले नै उहाँ (युवन्तिका) को नागरिकता खारेज गरेपछि हामीले गरेको नाता प्रमाणित कागजको अर्थ रहन्छ होला जस्तो मलाई लाग्दैन । तर, पनि कानुनी रुपमा के हुन्छ भन्ने मलाई पनि यकिन भएन,’ वडाध्यक्ष शेर्पाले वडापालिकासँग भने ।
सम्बन्धित समाचार
- ‘केपी ओलीको छोरी’ युवन्तिकाको नागरिकता झुटो, अदालतले सुनायो यस्तो फैसला
- राज्य संयन्त्रलाई यसरी ढाँटिरहेकी छिन् केपी ओलीकी ‘छोरी’ र सुवास नेम्वाङकी ‘भान्जी’ युवन्तिका
- युवन्तिकाका झुट श्रृङ्खलाः कानुनमा तामाङ, व्यवहारमा राई, यसरी ढाँटिन् सिडियो, पालिका र एमालेलाई