सरकारले फेरि हमला गर्न सक्छ, लाखका लाख विरोधमा उत्रिन तयार रहनुस् : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो पार्टीप्रति निर्मम व्यवहार गरिरहेको आरोप लगाउँदै त्यसको प्रतिरोधका लागि तयारी अवस्थामा रहन अगुवा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

पार्टीको राष्ट्रिय भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले एमालेमाथि आगामी दिनमा पनि थप प्रहार गर्न सक्ने आशङ्का व्यक्त गरे । यदि सरकारले त्यस्तो कदम चालेमा पार्टीले कडा प्रतिरोध गर्ने र त्यसको मूल्य सरकारका लागि महँगो पर्न सक्ने चेतावनीसमेत उनले दिए ।

सम्बोधनका क्रममा ओलीले भने, ‘सरकारले एमालेमाथि निर्मम हमला गरेको छ । अब सरकारले फेरि हमला गर्न सक्छ । त्यसको प्रतिरोध हुनेछ । त्यसको मूल्य महँगो पर्न सक्छ ।’

विगतको समीक्षा र आगामी रणनीतिको सङ्केत यसअघि आफू गिरफ्तार हुँदा सयौँ कार्यकर्तामाथि निर्मम ढङ्गले कुटपिट भएको स्मरण गर्दै ओलीले त्यतिबेला सडकमा उत्रिने कार्यकर्ताको सङ्ख्या अपेक्षाकृत कम भएको हुन सक्ने बताए । तर, अबको परिस्थितिमा सानो सङ्ख्याले नपुग्ने भन्दै उनले लाखौँको सङ्ख्यामा सडकमा उत्रिन कार्यकर्तालाई आह्वान गरे ।

‘पहिले गिरफ्तार हुँदा सङ्ख्यामा केही कमी भयो होला । अबको प्रतिरोध लाखका लाख विरोधमा उत्रिनुपर्छ । सबै तयार हुनु । यो सरकारले कुन बेला के गर्छ, भर छैन,’ ओलीको भनाइ थियो ।

सरकारको सम्भावित कदमप्रति सचेत रहन अध्यक्ष ओलीले दिएको यो निर्देशनसँगै एमालेको राष्ट्रिय भेलामा सरकारसँगको बढ्दो राजनीतिक तनाव र आगामी प्रतिरोधको रणनीति मुख्य बहसको विषय बनेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १४:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update