ओली लेखक पक्राउः एमालेमा तरंग, कांग्रेस बेखबर जस्तै

 

काठमाडौँ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएपछि ती नेता सम्बद्ध पार्टीको फरक प्रतिक्रिया देखिएको छ । 

भदौ २३ र २४ को जेनजी प्रदर्शनमा प्रहरी दमन भएको गौरीबहादुर कार्की आयोगले ठहर गरेपछि सोही आयोगको सिफारिसका आधारमा ओली र लेखकलाई पक्राउ गरिएको हो । जेनजी प्रदर्शनको समयमा ओली प्रधानमन्त्री थिए भने लेखक गृहमन्त्री थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार गठन भएको २४ घण्टा पनि नवित्दै तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गरिएको हो । बालेन नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भदौ १३ गते गरेको थियो । भदौ १४ गते विहानै ओली र लेखकलाई पक्राउ गरिएको हो ।

ओली र लेखक पक्राउ प्रकरणमा उनीहरु सम्बद्ध राजनीतिक दलको प्रतिक्रिया भने फरक फरक देखिएको छ । एमाले अध्यक्ष समेत रहेका ओली पक्राउ प्रकरणमा एमालेले कडा विरोध गरेको छ । एमालेका नेता कार्याकर्ताले सामाजिक संजाल मार्फत पनि आपत्ति जनाएका छन् । यस्तै, यो समाचार तयार पार्दासम्ममा एमाले सचिवालय बैठक सुरु भइसकेको छ । एमालेले संसद, सडक र कानुनी लडाइ लड्ने प्रतिक्रिया दिइसकेको छ ।

तर, नेपाली कांग्रेस भने यो विषय जानकारी नै नभएको जस्तो गरेर मौन छ । आफ्नै नेता तत्कालिन गृहमन्त्री लेखक पक्राउ परे पनि नेपाली कांग्रेसले औपचारिक रुपमा कुनै प्रतिक्रिया जनाएको छैन भने कांग्रेस नेता कार्याकर्ताले सामाजिक संजालमा पनि खासै प्रतिक्रिया जनाएका छैनन् ।

लेखक निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेता हुन् । पुस अन्तिम साता तत्कालिन महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा विशेष महाधिवेशन गरेर गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति बनाइएको छ । देउवा पक्षले सो विशेष महाधिवेशनलाई अस्वीकार गरिरहेको छ । लेखक आफ्नो पक्षका नेता नभएको कारण अहिलेको संस्थापन पक्षले औपचारिक प्रतिक्रिया नजनाएको हो कि भन्ने संसय कतिपय कांग्रेसहरुले अनौपचारिक रुपमा गरिरहेका छन् ।

 

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update