काठमाडौँ । प्रहरीले एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा छोडेको छ ।
सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीले दुवैलाई हाजिर जमानीमा छोडेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार ओलीलाई अस्पतालमै आफन्तको जिम्मा लगाएर छोडिएको छ ।
यसका लागि सरकारी वकिल कार्यालय काठमाडौंको सहमति समेत प्राप्त भएको एसपी भट्टराईले बताए।
प्रहरीले ओली र लेखकलाई भदौ २३ को घटनासँग सम्बन्धित ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न गिरफ्तार गरेको थियो । भदौ २३ गते ओली प्रधानमन्त्री थिए भने लेखक गृहमन्त्री थिए । लेखकले भदौ २३ गते साँझ नै राजीनामा दिएका थिए भने ओलीलाई भदौ २४ गते नेपाली सेनाले प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकोप्टरमा उद्धार गरेको थियो ।
उनीहरूलाई पछिल्लो पटक ५ दिनको म्याद थप गरिएको थियो। उक्त म्याद गएराति सकिएसँगै आज उनीहरूलाई छाड्ने निर्णय भएको हो।
चैत २३ गते सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उनीहरूमाथि फेरि म्याद नथप्न परमादेश जारी गरेको थियो।
ओली र लेखकले सर्वोच्च अदालतमा आफूहरूलाई गैरकानुनी थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए। उक्त रिट सर्वोच्चले खारेज गरेको थियो।
तर परमादेश जारी गर्दै तेस्रो पटक थपिएको हिरासतमा राखेर अनुसन्धान गर्न लिएको म्याद अब फेरि नथप्न भनेको हो।
प्रहरीले गत चैत १४ गते बिहान भक्तपुरको निवासबाट ओली र लेखकलाई पक्राउ गरेको थियो। उनीहरूविरूद्ध भदौ २३ गते भएको घटनासँग सम्बन्धित छानबिन गर्न भनेको जाँचबुझ आयोगले अनुसन्धान गर्न सिफारिस गरेको थियो।
चैत १३ गतेको प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा बसेको मन्त्रिपरिषद बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय भएको २४ घण्टा नवित्दै ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको थियो ।






