Odapalika - The Fourth Estate - चौथो अंग
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रको अपिल

काठमाडौँ । ‘जेनजी’ आन्दोलनका क्रममा देशभर भएको जनधनको  क्षतिप्रति निजी क्षेत्रका छाता संस्थाहरुले दुःख व्यक्त गर्दै तत्काल नवनिर्माण र पुनःनिर्माणमा जुट्न सार्वजनिक अपिल गरेका छन् । 

नेपाल उद्योग वाणिज्य महासङ्घले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएका आगजनी तथा तोडफोडबाट अपूरणीय क्षति भएकामा दुःख व्यक्त गरेको छ । महासङ्घले निर्वाध पेसा–व्यवसाय सञ्चालनका लागि आवश्यक सुरक्षा माग गर्दै निजी क्षेत्रले बजारमा उपयोग्य वस्तुको अभाव हुन नदिन व्यवसायीलाई आग्रहसमेत गरेको छ ।

‘उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन् । यसरी व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासङ्घ भत्र्सना गर्दछ । साथै महासङ्घ व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताका लागि सबैको ध्यानाकर्षण गराउन चाहन्छ । उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौ रुपैयाँ बराबरको क्षति भएको छ । यसबारे महासङ्घले थप विवरण सङ्कलन गरिरहेको भएता पनि क्षतिका कारण राजस्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आकलन गरिएको छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ ।

देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा समन्वय एवं सहकार्य गर्न निजी क्षेत्र तयार रहेको पनि महासङ्घले जनाएको छ । उद्यम व्यवसाय सञ्चालनका लागि सुरक्षाको प्रत्याभूति गरिनुपर्ने महासंघको भनाइ छ । 

‘नवनिर्माण एवं पुनःनिर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको हुँदा उद्यम व्यवसायको निर्वाध सञ्चालन गर्न आवश्यक शान्तिसुरक्षाको व्यवस्थाका लागि महासङ्घ आग्रह गर्दछ । निजी क्षेत्रका गतिविधि निर्बाध रूपमा सञ्चालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजस्वमा समेत नकारात्मक प्रभाव पर्न जानेछ,’ महासंघले भनेको छ ।

निषेधाज्ञा एवं कर्फ्यूका समयमा अत्यावश्क सेवा तथा पेसाकर्मीको आवतजावत एवं औषधि, खाद्यान्न, दूध, पानी फलफूल तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसारपसार सहजीकरणका लागि पनि महासङ्घले आग्रह गरेको छ । यसैगरी, गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिनेतर्फ देशैभरका उद्यमी व्यवसायीलाई अपिल गरिएको छ । अत्यावश्यक सामान आयात–निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिई पुनः सञ्चालन गर्ने वातावरण निर्माणका लागि पनि महासङ्घले आग्रह गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सले प्रेस विज्ञप्तिमार्फत आन्दोलनका क्रममा औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भीर क्षति भएको जनाउँदै वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संवाद, सहकार्य र संयमता अपनाउन सरोकार भएका निकायको ध्यानाकर्षण गराएको छ । भ्रष्टाचार निवारण, सुशासन कायम, राज्य संयन्त्रको पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा नागरिकको सहज पहुँच जस्ता ‘जेनजी’ले उठाएका विषयलाई सबै सरोकार भएकाले गम्भीरतापूर्वक लिनुपर्ने चेम्बरले अवश्यकता औँल्याएको छ ।

‘आन्दोलनका क्रममा भएको जनधनको क्षतिले देशमा थप निराशा फैलाउने, औद्योगिक तथा व्यावसायिक वातावरण खल्बल्याउने र लगानीमैत्री वातावरणमा प्रतिकूल असर पार्ने भएकाले सबै सरोकारवाला पक्ष संयमित बनेर निकास खोज्नुपर्ने आवश्यकता छ । ‘आगामी दिनमा यस्ता खाले घटना दोहोरिन नदिन सरोकार भएका पक्ष र जेनजी पुस्ताका युवाहरूलाई संवाद र रचनात्मक सहकार्यमार्फत दीर्घकालीन समाधान खोज्न हामी आह्वान गर्दछौँ । साथै, मुलुकको समग्र विकासमा सबै पक्षको सक्रिय सहभागिता पनि अपरिहार्य छ,’ चेम्बरले भनेको छ ।

यस्तै, नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि मुलुकभर यातायात ठप्प हुँदा दैनिक उपभोग्य सामग्री, कच्चापदार्थ, औद्योगिक उत्पादनदेखि औषधि आपूर्तिसमेत गम्भीर रूपमा प्रभावित भएको जनाएको छ । यसले व्यवसायी, चालक, सहचालक र मजदुरहरूको जीविकामा सङ्कट ल्याएको र नागरिक असाधारण कठिनाइमा परेको पनि महासङ्घले जनाएको छ । यातायात व्यवसायीलाई राज्यले पूर्ण कानुनी सुरक्षा दिनुपर्ने मागसमेत गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update