काठमाडौं - चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा भटमास र सूर्यमुखी कच्चा तेल आयात गरी त्यत्ति बराबरकै निर्यात गरिएको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा ३० अर्ब २४ करोड ८७ लाख रुपैयाँको भटमासको तेल आयात गरिएको छ । सो अवधिमा ३० अर्ब ६९ करोड ७८ लाख रुपैयाँको भटमासको तयारी तेल निर्यात गरिएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
तीन महिनाको अवधिमा चार अर्ब ३३ करोड २८ लाख रुपैयाँको कच्चा सूर्यमुखी तेल आयात गरिएको छ । सोही अवधिमा दुई अर्ब १३ करोड ९५ लाख रुपैयाँको सूर्यमुखी तेल निर्यात भएको भन्सार विभागले जनाएको छ ।
गत वर्षको तुलनामा यो वर्षको तीन महिनामा वैदेशिक व्यापारघाटा १२ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार, कुल पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ । जसमा चार खर्ब ६८ अर्ब आठ करोड रुपैयाँको आयात र ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँको निर्यात भएको छ ।





