Odapalika - The Fourth Estate - चौथो अंग
यति ग्रुपले भन्योः ६ अर्बमा जग्गा नै पाइने ठाउँमा त्यति भाडा कसले तिर्ला ?

काठमाडौं - नेपाल ट्रष्टको जग्गा लिज विवादमा यति ग्रुपअन्तर्गतको थामसर्केु ट्रेकिङ प्रालिले आफ्नो ग्रुपलाई अनावश्यक आरोप लगाइएको बताएको छ । कम्पनीका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले विज्ञप्ति जारी गर्दै ६ अर्बमा जग्गा नै पाइने दरबारमार्गमा त्यति नै भाडा तिर्न आवश्यक नरेको स्पष्ट पारेका हुन् । 

“६ अर्ब रुपैयाँमा आजको मितिमा समेत दरबारमार्ग क्षेत्रमा ३० आना जग्गा खरिद नै गर्न सकिने अवस्थामा ३० आना जग्गा प्रयोगबापत मात्रै ६ अर्ब तिर्न कोही मञ्जुर हुन सक्ला ?, साथै यसै आधारमा हिसाब गर्ने हो भने जग्गाको मात्रै भाडा प्रति वर्ग फिट प्रतिमहिना रु १५०० भन्दा बढी नै पर्न आउने देखिन्छ, के यो आजको स्थितिमा चलन चल्तीको भाडा दर हो ?” आइतबार सार्वजनिक विज्ञप्तिमा उल्लेख छ । 

नेपाल ट्रष्टको कार्यालयबाट मिति २०७३ असार १४ गते गोरखापत्र दैनिक पत्रिकामा प्रकाशित लिज प्रस्ताव आह्वानको सूचना बमोजिम यस कम्पनीले टेन्डर प्रक्रियामा सरिक भई एक अर्ब ५९ करोड ४० लाख ५२ हजार तिर्ने प्रस्ताव गरी तोकिएका सम्पूर्ण सर्तहरू पूरा गरी दरबारमार्गस्थित नेपाल ट्रष्टको नाममा रहेको जग्गा निर्माण अवधिको तीन वर्षसहित जम्मा ३० वर्षको लागि लिजमा प्राप्त गरेको गरेको थियो । यसमा जग्गाको हकमा रु एक अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ र भवन निर्माणको हकमा १९ करोड २९ लाख ६५ हजार ९२७ रुपैयाँमा प्रस्ताव स्वीकृत भएको थियो ।  

कम्पनीले लिज प्राप्त गरी कोभिड-१९ को विषम परिस्थितिमा पनि उक्त जग्गामा सम्झौतामा उल्लेखि अवधिभित्रै भवन निर्माण गरी सञ्चालनमा ल्याई सोही मितिदेखि लिज बापतको रकम भुक्तानी गर्दै आइरहेको छ ।

कम्पनीले १९ करोड २९ लाख ६५ हजार ९२७ रुपैयाँको लागतमा भवन निर्माण गर्ने भनि प्रस्ताव गरेको थियो । निर्माण गर्दै जाँदा उक्त भवनको लागत ४० करोडभन्दा बढी परेको बताइएको छ । जग्गाको लिजबापत हालसम्म २१ करोडभन्दा बढी रकम यस कम्पनीले नेपाल ट्रष्टको कार्यालयलाई भुक्तानी गरिसकिएको छ ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update