सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
स्थानीय ६२ वर्षीय दुर्गामान बम्जनको घरमा भान्साकोठाभित्र आगलागी हुँदा उनकी बुहारी ३२ वर्षीया सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
उनका अनुसार, दुर्गामानको दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको र उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । दिउँसो खाजा खाने समयमा बुहारीलाई आगो लागेको देखेपछि निभाउन खोज्दा ससुरालाई पनि आगोले पोलेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो भएको घटनाका बेला घरमा मृतक सुशीला, उनका सासू, ससुरा र नन्द रहेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए । मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् भने उनका दुई छोरा र एक छोरी छन् ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको सुवेदीले जानकारी दिए ।







