खजुरा- जिल्लाको डुडुवा गाउँपालिका–२ रामनगर पाझा गाउँमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् ।
आज दिउँसो भएको आगलागीबाट पाँच घर जलेर पूर्ण रूपमा नष्ट भएकामा नेपालगञ्जबाट गएको बारुणयन्त्र र स्थानीयको सयुंक्त पहलमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।
सामुदायिक विपद् व्यवस्थापन समितिका राममनोहर यादवले आगलागीबाट स्थानीय लल्लन यादव, बाँके यादव, बल्ले गोडिया, बाबादीन गोडिया र शिवबक्स गोडियाको घर जलेर नष्ट भएको जानकारी दिए।
आगलागीबाट घरभित्र रहेको नगद रकम, गैरखाद्य सामग्री, लत्ताकपडा जलेर नष्ट भए पनि क्षतिको पूर्ण विवरण अझै आएको छैन । प्रहरी र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले क्षतिको तथ्याङ्क सङ्कलन गर्ने जनाइएको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आगलागी घटनाप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल राहतको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।







