काठमाडौँ । नेपाली कांग्रेसमा आधिकारिकताको विवाद निर्वाचन आयोगबाट टुंगिएको छ । आयोगले कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको हो।
आयोगले विशेष महाधिवेशनले निर्वाचित गरेको कार्यसमिति नै आधिकारिक ठहर गर्दै यही विवरण आयोगमा अद्यावधिक गर्ने निर्णय छ । आयोगले यो निर्णय बहुमतका आधारमा लिएको बताइएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका तीन पदाधिकारीमध्ये दुई जनाले गगनको पक्षमा र एक जनाले विपक्षमा राय दिएका स्रोतको भनाइ छ ।
प्रमुख निर्वाचन आयुक्त भण्डारी र निर्वाचन आयुक्त सगुनशमशेर राणाले गगनको पक्षमा निर्णय दिएका थिए भने अर्का आयुक्त जानकी तुलाधर विपक्षमा थिइन्।
नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै पार्टी कार्यालयमा दर्ता गराएका थिए । तर, केन्द्रीय समितिले विशेष महाधिवेशन आवश्यक छैन भन्दै आगामी बैशाखको २८ गतेदेखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
केन्द्रीय समितिले यस्तो निर्णय गरेपछि महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले पुसको २७ र २८ गते काठमाडौमा विशेष महाधिवेशनको आव्हान गरेका थिए । उनीहरुको आव्हानमा पुस २७ देखि ३० सम्म विशेष महाधिवशेन भएको थियो । सो विशेष महाधिवेशनले सभापतिमा गगन थापा र उपसभापतिमा विश्वप्रकाश शर्मासहित सबै पदाधिकारी र केन्द्रीय कार्यसमिति सर्वसम्मत भएको घोषणा गरिएको थियो ।
तर, १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा पक्षले भने विशेष महाधिवेशनलाई अवैधानिक भन्दै सहभागी भएको थिएन । सो पक्षले आफू नेतृत्वको कार्यसमिति नै बैधानिक रहेको भन्दै निर्वाचन आयोगमा दाबी पेश गरेको थियो । तर, आयोगले गगन कार्यसमितिको पक्षमा निर्णय गरेको हो ।
आयोगले यस्तो निर्णय गरेपछि देउवा पक्षले आपत्ति जनाएको छ । सो पक्षले निर्वाचन आयोगको निर्णय विरुद्ध कानुनी लडाइ लड्ने प्रतिक्रिया दिएको छ ।
यो निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति थापा बनेका हुन् । आयोगले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले महाधिवेशन माग गर्न पाउने र त्यो मागअनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था, विधानत महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि र विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति देखिएन भन्ने आधारमा थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको जनाएको छ ।







