Odapalika - The Fourth Estate - चौथो अंग
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कंकाल फेला

बन्दीपुर (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–५, दोन्द्राङ बेँसीनजिक त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा भेटिएको गणपति डिलक्स बसबाट मानव कंकाल फेला परेको छ । 

डेढ वर्षअघि सिमलतालमा पहिरोसँगै बेपत्ता भएको उक्त बस उत्खनन गर्ने क्रममा एकजनाको कंकाल फेला परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । 

उनका अनुसार, बसको करिब ४० प्रतिशत भाग काटेर बाहिर निकाल्ने क्रममा कम्मरभन्दामाथिको भाग मात्र भएको मानव कंकाल फेला परेको हो । फेला परेको कंकाल परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ ।

सिमलताल दुर्घटनास्थलभन्दा करिब ३०० मिटर तल त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा १६ दिनअघि उक्त बसका पाटपुर्जा देखिएपछि खोजीकार्य तीव्र पारिएको थियो । इलाका प्रहरी कार्यालय आँबुखैरेनी, सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवन र नं २३ मनकामना गण भानु तनहुँबाट खटिएको संयुक्त सुरक्षा टोलीले उक्त बस फेला पारेको थियो ।

विसं २०८१ असार २८ गते बिहानपख काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालको झोलुंगे पुलनजिकैबाट लेदोसहितको पहिरोमा परी त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । 

दुवै बसका ६५ यात्रुमध्ये गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर माथि आएका थिए । अन्य सबै बससँगै बगेका थिए । 

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  ०६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update