काठमाडौँ । आज ७५औं प्रजातन्त्र दिवस । जहानियाँ राणा शासनको अन्त्य गरी २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको स्मरणमा फागुन ७ गते प्रजातन्त्र दिवस माउने गरिन्छ ।
प्रजातन्त्र दिवसको अवसरमा संघ सरकारले काठमाडौँको टुलिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ । सैनिक मञ्चमा आयोजित कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, संबैधानिक निकायका प्रमुखहरु तथा नेपाल सरकारका उच्च पदमा आसिन व्यक्तिहरु सहभागी भएका थिए ।
काठमाडौँ उपत्यकाभन्दा बाहिर प्रदेश र स्थानीय सरकारहरुले पनि प्रजातन्त्र दिवस मनाइरहेका छन् । काठमाडौँ उपत्यका बाहिरका जिल्ला सदरमुकामहरुमा आयोजना हुने राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम सञ्चालनको व्यवस्थाका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सम्बन्धित पालिका प्रमुख सम्मिलित समिति गठन गरिएको छ । सोही समितिको अग्रसरतमा सरसफाई, प्रभातफेरी, खेलकुद, प्रवचन तथा साहित्यिक गोष्ठी, साँस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी जस्ता विविध कार्यक्रम सञ्चालन गरिएको छ ।
सबै स्थानीय तहहरुमा सम्बन्धित स्थानीय तहका प्रमुखको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति गठन गरी राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ भव्य रुपमा मनाउन स्थानीय सरकारहरुले स्थानीयबासीहरुलाई अनुरोध पनि गरेका छन् ।
स्थानीय विद्युतीय तथा छापा सञ्चार माध्यमबाट राष्ट्रिय प्रजातन्त्र दिवससँग सम्बन्धित विभिन्न सन्देश तथा कार्यक्रमहरु प्रसारण प्रकाशन गर्न लगाइएको छ भने फागुन ६, ७ र ८ गते स्थानीय तहका सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघ संस्थाका कार्यालयहरूको छत, वरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरवार स्क्वायर जस्ता क्षेत्र एवं घरघरमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम तय गरिएको छ ।
स्थानीय विद्युतीय तथा छापा सञ्चार माध्यमबाट राष्ट्रिय प्रजातन्त्र दिवससँग सम्बन्धित विभिन्न सन्देश तथा कार्यक्रमहरु प्रसारण प्रकाशन गर्न लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस स्वास्थ्य सेवा सम्बद्ध स्थानीय संघ संस्थाहरु समेतको समन्वयमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाईसमेतको समन्वयमा फरक क्षमता भएका विद्यार्थीलाई उपयुक्त हुने शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने कार्य भएको छ भने विभिन्न आन्दोलनहरु लगायत जेनजी आन्दोलनका सहिद तथा वेपत्ता व्यक्तिका परिवार र घाइतेहरूलाई प्रमुख जिल्ला अधिकारीको समन्वयमा सम्मान कार्यक्रम आयोजना गरिएको छ ।







