Odapalika - The Fourth Estate - चौथो अंग
होर्मुजनजिक तीन जहाजमाथि इरानी आक्रमण, तेलको मूल्य नौ प्रतिशतले बढ्यो

काठमाडौं । अमेरिका र इजरायलले आफूमाथि गरेको आक्रमणको बदलामा इरानले स्ट्रेट अफ होर्मुजनजिकै कम्तीमा तीनवटा जहाजमाथि हमला गरेको छ ।

बेलायती सामुद्रिक व्यापार सञ्चालन केन्द्रका अनुसार दुईवटा जहाजमा आक्रमण गरिएको छ भने तेस्रो जहाजमा एक अज्ञात वस्तु विस्फोट भएको बीबीसीले जनाएको छ । 

विश्वको करिब २० प्रतिशत तेल र ग्यास ढुवानी हुने यस स्ट्रेट अफ होर्मुजबाट ओहोरदोहोर नगर्न इरानले चेतावनी दिएको छ ।

स्ट्रेट अफ होर्मुज अवरुद्ध हुने डरले विश्व बजारमा तेलको मूल्य बढाइएको छ । एसियाली बजारमा सोमबार बिहानको कारोबारमा ‘ब्रेन्ट क्रुड’को मूल्य नौ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

स्ट्रेट अफ होर्मुजको प्रवेशद्वारमा अन्तर्राष्ट्रिय जहाजहरूको आवतजावत लगभग ठप्प भएको छ । जहाज ट्रयाकिङ प्लेटफर्म ‘केप्लर’का अनुसार कम्तीमा १५० ट्यांकरहरूले हर्मुज जलसन्धि बाहिर खुला खाडीमा लंगर हालेर बसेका छन् ।

इरानको रेभोल्युसनरी गार्डले बेलायत र अमेरिकाका तीनवटा ट्यांकरहरूमा मिसाइल प्रहार गरिएको र ती जलिरहेको दाबी गरेको छ । बेलायत र अमेरिकाले यसबारे कुनै टिप्पणी गरेका छैनन् ।

निजी सामुद्रिक सुरक्षा कम्पनी भ्यानगार्ड टेकका अनुसार जिब्राल्टर, पलाउ, मार्सल आइल्यान्ड्स र लाइबेरियाको झण्डा रहेका जहाजहरू यी घटनामा परेका छन् ।

चौथो एउटा घटनामा जहाजबाट चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा निकालिएको बताइएको छ, तर त्यसको स्पष्ट कारण खुल्न सकेको छैन ।

केप्लरका हुमायुन फलकशाहीले बीबीसीलाई भने, “इरानको धम्कीका कारण यो स्ट्रेट अफ होर्मुज बन्द भएको छ । जोखिम धेरै उच्च भएको र बिमा लागत निकै बढेका कारण जहाजहरूले पूर्वसावधानीस्वरूप प्रवेश नगर्ने निर्णय गरेका हुन् ।”
 

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  ०६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update