काठमाडौँ । मोरङ जिल्लाको बेलबारी नगरपालिकाले जमिनको वर्गीकरण गरेको छ । नगरपालिकाले गत माघ २१ गते नै जमिन वर्गीकरण गरिसकेको भएपनि हालै मात्र सोको विवरण सार्वजनिक गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजयबहादुर राजलवटले स्थानीय भूउपयोग परिषदले गत माघ २१ गते वर्गीकरणको निर्णय गरेको जानकारी दिए । नगरपालिकाले जग्गाको कित्ता नं. नै उल्लेख गरेर कुन वर्गमा पर्ने हो, सोसमेत उल्लेख गरेको छ ।
परिषले नगरपालिकाभित्रको जग्गा कृषि, आवाशीय, सार्वजनिक जस्ता वर्गमा वर्गीकरण गरेको छ । तपाईंको जग्गा कुन वर्गमा पर्यो भनेर जान्न यहाँ क्लिक गरी नगरपालिकको वेबसाइटमा राखिएको विवरणबाट वडा छनोट गरी हेर्न सकिन्छ ।
भूउपयोग क्षेत्र वर्गीकरणमा चित्त नबुझेमा भूउपयोग कार्यक्रम कार्यान्वयन निर्देशिकाको दफा २८ (२) बमोजिम पन्ध्र दिनभित्र उजुरी दिन सकिने प्रमुख प्रशासकीय अधिकृत राजलवटले जानकारी दिए । नगरपालिकाले फागुन २७ गते सार्वजनिक सुचना प्रकाशन गरेको छ ।
तोकिएको म्याद भित्र उजुरी नपरेमा सूचना वमोजिम वर्गीकृत भूउपयोग क्षेत्रमा भूउपयोग ऐन, २०७६ को दफा ७ बमोजिम जग्गाधनी श्रेस्ता र प्रमाण पूर्जा अद्यावधिक गरिने नगरपालिकाको भनाइ छ ।







