नेतन्याहू जीवित भए नछोड्ने इरानको धम्की

काठमाडौं । इरानको रिभोलुसनरी गार्डसले यदि, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू जीवित रहेको भए उनलाई लखेटेर मार्ने धम्की दिएको छ । 

इरानी गार्डसले नेतन्याहूलाई १६८ जना बालबालिका मार्ने अपराधी भन्दै आफ्नो आधिकारिक वेबसाइट ‘सिपाह न्यूज’मा लेखेको छ, “यदि, यो बालबालिका मार्ने अपराधी जीवित छ भने, हामी पूर्ण शक्तिका साथ उसको पिछा गर्नेछौँ र उसलाई मार्नेछौँ ।” 

युद्धका बीच दुवै पक्षबाट एक–अर्कालाई मार्ने धम्की दिइएको बेला यो धम्की आएको समाचार संस्था एएफपीले जनाएको छ ।

नेतन्याहूले दिएका थिए मुजतबा खामेनेईलाई धम्की
केही समयअघि नेतन्याहूले पनि इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेईलाई मार्ने धम्की दिएका थिए । नेतन्याहूलाई इजरायलले इरानका नयाँ नेता मुजतबा वा हिजबुल्लाहका नेता नइम कासिमलाई निशाना बनाउने योजना छ भन्ने प्रश्न सोधिएको प्रश्नमा उनले भनेका थिए, “म यी आतंकवादी संगठनका नेताहरूका लागि कुनै लाइफ इन्स्योरेन्स पोलिसी (जीवन बीमा) लिने छैन ।” 

नेतन्याहूको मृत्युको खबर कसरी फैलियो 
नेतन्याहूको कार्यालयले सामाजिक सञ्जालमा भाइरल भइरहेको उनको मृत्युको खबरलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ । इजरायलका प्रधानमन्त्रीको हत्या भएको भन्ने अफवाहहरू फैलिएका थिए ।

टर्कीको समाचार एजेन्सी ‘अनादोलु एजेन्सी’ले यसबारे सोध्दा प्रधानमन्त्रीको कार्यालयले भन्यो, “यो पूर्ण रूपमा फेक न्यूज हो । प्रधानमन्त्री पूर्ण रूपमा ठिक हुनुहुन्छ ।”

नेतन्याहूले शुक्रबार आफ्नो ‘एक्स’ खातामा एउटा भिडियो पोस्ट गरेका थिए, जसमा उनी इजरायल–अमेरिका–इरान युद्धका बारेमा प्रेस कन्फरेन्समा कुरा गरिरहेका थिए । 

भिडियो पोस्ट हुनेबित्तिकै केही मानिसहरूले भिडियोमा नेतन्याहूको दाहिने हातमा ६ वटा औँलाहरू देखिएको दाबी गरे ।

भिडियोको करिब ३५ सेकेन्डमा कान्छी औँलाको छेउमा अलिकति अतिरिक्त मासु देखियो, जसलाई मानिसहरूले छैटौँ औँला ठाने । उनीहरूले यो एआईबाट बनाइएको भिडियोको सामान्य गल्ती भएको बताए, किनकि एआईमा कहिलेकाहीँ औँलाहरू गडबड देखिन्छन् ।

यो अफवाहलाई अमेरिकी कमेन्टेटर क्यान्डेस ओवेन्सले एक्समा लेखेपछि थप बल मिल्यो, “नेतान्याहू कहाँ छन् ? उनको कार्यालयले किन नक्कली एआई भिडियो जारी र डिलिट गरिरहेको छ ? ह्वाइट हाउसमा यति धेरै डर किन फैलिएको छ ?” तर, तथ्य जाँच गर्दा यो केवल छाया वा हातको मुद्राका कारण त्यस्तो देखिएको पत्ता लाग्यो । वास्तवमा उनको हातमा पाँचवटा मात्र औँला छन् । धेरै फ्याक्ट–चेक साइटहरूले यसलाई गलत बताएका छन् ।

पछि ओवेन्सले अर्को पोस्टमा भनिन्, “मलाई थाहा छैन नेतान्याहूको मृत्यु भएको छ वा छैन । तर, ह्वाइट हाउसमा साँच्चै डर फैलिएको छ र यो युद्ध योजनाअनुसार चलिरहेको छैन भन्ने स्पष्ट छ । जुन तरिकाले ट्रम्पले स्कुले छात्राहरूमाथि बमबारी गर्नेबारे यति सजिलै झूट बोले, त्यसलाई हेर्दा यो प्रशासनको कुनै पनि कुरामा विश्वास गर्न गाह्रो छ ।”

अन्य प्रयोगकर्ताहरूले उक्त भिडियो क्लिपको ब्याकग्राउन्डमा रहेका केही दृश्य विवरणहरूतर्फ इशारा गरेका थिए, जसमा पर्दाहरू हल्लिरहेको देखिन्थ्यो भने दुईवटा इजरायली झण्डाहरू लगभग स्थिर थिए । यसले फुटेजसँग छेडछाड गरिएको हुन सक्ने संकेत गरेको थियो ।

एक प्रयोगकर्ताले पर्दा पूरा भिडियोभरि लगभग एउटै ढाँचामा हल्लिएको देखिएको र यो लुपमा चलिरहेको जस्तो लाग्ने टिप्पणी गरेका थिए, जसका आधारमा केहीले भिडियो कृत्रिम रूपमा बनाइएको हुनसक्ने तर्क गरेका थिए । 

यद्यपि, केही प्रयोगकर्ताहरूले यस दाबीको विरोध गर्दै आजभोलि धेरै ब्रोडकास्ट र आधिकारिक भिडियोहरूमा डिजिटल वा भर्चुअल ब्याकग्राउन्डको प्रयोग हुने भएकाले दृश्यहरूमा यस्तो भिन्नता देखिन सक्ने बताएका छन् । टाइम्स अफ इजरायल/एनडीटीभी

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  ०६:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update