काँक्रेविहार (सुर्खेत) । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट नगरपालिका–१२, पिप्लेकी माया कठायतको शव फेला परेको छ । ११ वर्षकी छोरी आशा र पाँच वर्षका छोरा दीपकसहित सम्पर्कविहीन भएकी मायाको शव सोमबार (चैत २) बेलुकी फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढथापाले जानकारी दिए ।
प्रहरी र स्थानीयले खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको हो । हराएको स्थानदेखि सात किलोमिटर दक्षिणतर्फ लेकबेँसी नगरपालिका–३ पटारेस्थित भेरी नदीको किनारमा शव भेटिएको प्रवक्ता बुढथापाले जानकारी दिए । उनका दुई छोराछोरीको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरू आइतबारदेखि बेपत्ता थिए । मायाका श्रीमान् भूपेन्द्र कठायतले प्रहरी चौकी गुमीमा खबर गरेपछि खोजी सुरु भएको थियो ।







