‘जनयुद्धका लाभग्राही’को विवरण छिटो पठाउन स्थानीय सरकारलाई कर्णाली प्रदेशको ताकेता

कर्णाली । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यहाँका स्थानीय तहहरूलाई सहिद स्मृति र जीवन निर्वाह विशेष भत्ताको विवरण र प्रतिवेदन पठाउन ताकेता गरेको छ ।

मुख्यमन्त्री कार्यालयले सशस्त्र सङ्घर्ष, जनआन्दोलन र प्रदेश प्राप्तिका लागि भएको आन्दोलनका सहिद तथा बेपत्ता परिवारका हकवालालाई सहिद स्मृति भत्ता र घाइते अपाङ्गता भएका व्यक्तिहरूलाई जीवन निर्वाह विशेष भत्ता वितरण भएको आर्थिक वर्ष २०८२/८३ साउनदेखि पुस महिनासम्मको प्रतिवेदन र माघपश्चात् असार मसान्तसम्म भत्ता प्राप्त गर्ने लाभग्रहीहरूको आवेदन सङ्कलन तथा यकिन गरेर पठाउन ताकेता गरेको हो । 

‘सहिद स्मृति भत्ता वितरण कार्यविधि २०८१’ र ‘घाइते अपाङ्गता भएका व्यक्तिहरूलाई जीवन निर्वाह भत्ता वितरण कार्यविधि २०८१’ मा भएको व्यवस्थाबमोजिम कार्यविधिको अनुसूची १ बमोजिम माघदेखि असार मसान्तसम्म भत्ता प्राप्त गर्ने लाभग्रहीहरूको आवेदन सङ्कलन तथा एकिन गरी अनुसूची २ अनुसारको ढाँचामा लाभग्रहीको विवरण पठाउन परिपत्र गरिएको मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत लक्ष्मी कँडेलले जानकारी दिइन् ।

साउनदेखि पुस महिनासम्म वितरण गरिएको सहिद स्मृति तथा जीवन निर्वाह विशेष भत्ताको विवरण र प्रतिवेदन यही चैत १५ गतेभित्र पठाइसक्नुपर्ने र त्यसपछि यस कार्यालयबाट रकम निकासा गरिने कुराको जानकारी गराइएको शाखा अधिकृत कँडेलको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update