काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ र २४ मा सामाजिक सञ्जालको व्यापाक दुरुपयोग भएको ठहर गरेको छ ।
कार्की नेतृत्वले तयार पारेको प्रतिवेदनमा भनिएको छ– नेपालमा ठूलो जनसंख्यासँग मोबाइल रहेको छ । सामाजिक सञ्जालमा आउने भ्रामक समाचारले जनसंख्याको ठूलो हिस्सालाई तत्कालै इन्स्ट्यान्ट असर गर्दछ । र यसको नकारात्मक प्रचारले ठूलो क्षति पनि निम्त्याउन सक्छ जो भदौ २३ र २४ गतेको घटनाहरुमा देखियो ।”
प्रतिवेदनमा २३ भदौमा काठमाडौं बाहिर शान्त रहेको नेपाल २४ गते पूर्वदेखि पश्चिमसम्म आगजनी र तोडफोडको चपेटामा आई अर्बौं रुपैयाँ बराबरको सार्वजनिक र व्यक्तिगत सम्पत्ति खरानी बनाउन वा तोडफोड गर्नमा सामाजिक सञ्जालको प्रचार धेरै हदसम्म जिम्मेवार रहेको उल्लेख गरिएको छ ।
त्यसको फाइदा लिई अन्य आपराधिक ग्रुपहरु पनि संलग्न हुन पुगेको प्रष्ट देखिएको उल्लेख छ ।
भ्रामक प्रचारहरु जस्तै २३ गतेको घटनामा चुच्चेपाटीस्थित भाटभटेनीमा ३५ शवको कंकाल भेटिएको भनी प्रचार गरिएको प्रतिवेदनमा उल्लेख छ ।
उक्त प्रचार भ्रामक रहेको प्रतिवेदनमा औल्याइएको छ । “त्यस्तै ३२ जना हराइरहेका प्रदर्शनकारी बानेश्वर संसद् भवनभित्र मृत अवस्थामा भेटिए भनी २४ गते प्रचार गरियो । यस्तो प्रचार गर्नमा सोसल मिडिया इन्फ्लुन्सर टंक ढकाल, सुजन ढकाल, शिव परियार, हिमेस पन्त र भाग्य न्यौपानेजस्ता व्यक्तिहरु रहेको पाइन्छ ।”






