आयोगले भन्योः कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित समितिको विवरण संविधान एवं कानुनअनुसार अद्यावधिक गरिएको हो

काठमाडौं- निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूको विवरण आयोगको अभिलेखमा अद्यावधिक गर्दा नेपालको संविधान एवं कानुनबमोजिम गरिएको स्पष्ट पारेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र सम्बन्धित दलको विधान एवं अन्य प्रचलित कानुनबमोजिम गरेको निर्णयको विषयलाई सार्वजनिक सञ्चारमाध्यममा अन्यथा अर्थ लगाई टिप्पणी गरिएकाप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

निर्णयमा चित्त नबुझाएको पक्षले कानुनी उपचार खोज्ने अधिकारबमोजिम यस विषयमा सम्मानित सर्वोच्च अदालतमा परेको रिट निवेदनलाई सम्मान गरेको र आयोगको निर्णयउपर सम्मानित सर्वोच्च अदालतबाट परीक्षण हुने आयोगले जनाएको छ ।

संवैधानिक निकायले गरेको निर्णय र अदालतमा विचाराधीन विषयमा कानुनका मान्यसिद्धान्त, कानुनी व्यवस्था र मानवीय मर्यादालाई समेत ख्याल नगरी सार्वजनिक सञ्चारमाध्यमबाट निराधार टीकाटिप्पणी नगर्न नगराउन आयोगले सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ । 

आयोगको कानुनप्रतिको निष्ठा र यसले सम्पादन गरेका काम कारबाहीका विषयमा आएका कपोलकल्पित एवं निराधार विषयमा विश्वास नगर्न पनि सरोकार भएका  सबैमा आयोगले अनुरोध गरेको छ ।

कान्तिपुर टेलिभिजनमा आइतबार प्रसारित सरोकार कार्यक्रममा राजनीतिक दलका जिम्मेवार व्यक्तिबाट  आयोग र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलाई जोडेर गरिएका टिप्पणीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । 

आयोग कानुनी शासनमा सदैव पूर्ण विश्वास गर्ने भएकाले यसले गर्ने हरेक काम नेपालको संविधान र प्रचलित कानुनबमोजिम सम्पादन हुँदै स्पष्ट पारिएको छ । 

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  २०:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update