सेबोनलाई किन थाहा भएन २०७५ सालमै आएको छ सेयर कारोबार संचालन विनियमावली भन्ने ?

काठमाडौँ । बैशाख ४ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सार्वजनिक गरेको एउटा सुचना हेर्नुभएको छ ? सेयर बजारसँग सम्बन्धित वा चासो राख्ने व्यक्ति हुनुहुन्छ भने पक्कै पनि हेर्नुभएको होला ।

सो दिन नेप्सेले प्रकाशन गरेको सुचना ‘धितोपत्र कारोबार सञ्चालन (चौँचो संशोधन) विनियमावली, २०८२ कार्यान्वयन सम्बन्धमा’ छ । तपाईं ठीक पढिरहनु भएको छ । सुचनामा लेखिएको छ– धितोपत्र कारोबार सञ्चालन (चौँचो संशोधन) विनियमावली, २०८२ कार्यान्वयन सम्बन्धमा ।

नेप्सेले धितोपत्र विनियमावली २०८२ को चौँथो संशोधन गरेर लागू गर्न सो सुचना प्रकाशन गरेको थियो त ? होइन, हुँदैहोइन । नेप्सेले त धितोपत्र विनियमावली २०७५ को चौँथो संशोधन लागू गर्न सुचना प्रकाशन गरेको थियो ।

धितोपत्र विनियमावली २०७५ को चौँथो संशोधन हो भने नेप्सेले किन विनियमावली २०८२ भनेर लेख्यो ? यो कुनै प्राविधिक त्रुटीबस भयो वा अरु केही भयो ? 

यो विषय बुझ्नको लागि हामीले धितोपत्र बोर्डले स्वीकृत गरेको संशोधित विनियमावली अर्थात मुल स्रोतमै गएर हेर्यौं । धितोपत्र बोर्डको संचालक समितिले स्वीकृत गरेको विनियमावलीमै २०८२ को चौँथो संशोधन भनेर लेखिएको रहेछ ।

धितोपत्र बोर्ड नेपालको पुँजी बजारको नियामक निकाय हो । नेप्से संचालक समितिले पारित गरेको विनियमावली पनि धितोपत्र बोर्डको संचालक समितिले स्वीकृत गरेपछि मात्रै लागू हुन्छ ।

नेप्सेले विनियमावली संशोधन भएको छ र अब लागू हुन्छ भनेर प्रकाशन गरेको सुचनामा संशोधित विनियमावलीमा धितोपत्र बोर्डको छाप लगाएको र अन्तिममा एक जना अधिकारीले हस्ताक्षर गरेको देखिन्छ । सो विनियमावलीमा पनि ‘धितोपत्र कारोबार सञ्चालन (चौँथो संशोधन) विनियमावली, २०८२’ नै उल्लेख छ ।

यो विनियमावली संशोधन हुँदा नेप्से सञ्चालक समितिले एउटा पठाएको तर धितोपत्र वोर्ड संचालक समितिले अर्कै बनाइदिएको तथ्य वडापालिकाले सार्वजनिक गरिसकेको छ । नेप्सेले पठाएको विनियमावलीमा गरिएका धेरै प्रावधान धितोपत्र बोर्डले हेरफेर गरिदिएको छ ।

जस्तो कि नेप्सेले वोर्डमा पठाएको संशोधनमा लगानीकर्ताले कारोबार समयपछि पनि टिएमएसमा आदेश प्रविष्टि गर्न सक्ने भनिएको छ । तर, नेप्सेले यसरी प्रविष्टि गरिएको आदेश ब्रोकरलाई थाहा नहुने गरी इन्क्रिप्टेड गर्ने भनिएको थियो । बोर्डले इन्क्रिप्टेड गर्ने भन्ने विषयलाई हटाइदिएको छ । र, नेप्सेले आदेश प्रविष्टि गर्दा सेयरको अन्तिम मूल्यको २ प्रतिशत घटी वा बढी हुन नहुने गरी गर्नुपर्ने भनेको थियो । तर, धितोपत्र बोर्डले पछिल्लो दिनको अन्तिम मूल्यको १५ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र गर्नुपर्ने भनेको छ । 

यस्तै एउटा र अर्काे कारोबारमा ३ प्रतिशतले मूल्य घटी वा बढी राख्न पाइने व्यवस्था धितोपत्र बोर्डले गरिदिएको छ । जबकि यो विषयमा नेप्सेले केही बोलेकै थिएन ।

नेप्सेले केही नबोलेको अर्काे विषयमा पनि धितोपत्र बोर्डले हात हालेको छ । बोर्डले ‘प्रारम्भिक कारोबार सत्रमा कायम भएको धितोपत्रको मूल्यमा १५ प्रतिशत भन्दा घटी वा बढी हुने गरी सो दिन कारोबार हुने छैन’ भनेको छ । जवकि यो विषयमा नेप्सेले केही वोलेकै थिएन ।

नेप्से संचालक समितिले गरेको निर्णय उल्ट्याउँदा धितोपत्र बोर्डले जथाभावी निर्णय गरेको स्रोतले जानकारी दियो ।

‘नेप्से र धितोपत्र बोर्डका पदाधिकारी र पुराना कर्मचारीलाई धितोपत्र कारोबार सञ्चानल विनियमावली २०७५ छ भन्ने जानकारी थियो । सायद योभन्दा बाहिरको संयन्त्रले विनियम बनाएछ र उसले पहिला थिएन भन्ने मानेर धितोपत्र कारोबार संचालन विनियमावली २०८२ बनाएको होला,’ स्रोतले भन्यो । यो विनियमावलीको संशोधन पारित गर्ने समयको धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले अहिले पदबाट राजीनामा गरिसकेका छन् । समाचार स्रोतहरुले यो विनियम सेयर बजारसँग सम्बन्धित एक चर्चित व्यवसायीको कार्यालयमा बनाइएको दाबी गरेपनि सोको विश्वास गर्न सकिने गरी पुष्टी भइसकेको छैन । ।  पुँजी बजारको नियामक धितोपत्र बोर्डले नै धितोपत्र कारोबार संचालन (चौँथो संशोधन) विनियमावली, २०८२ भनेपछि आफूहरु पनि सोही नाम उल्लेख गर्न वाध्य भएको नेप्से स्रोतको भनाइ छ ।

यस्ताे छ संशाेधित विनियमावली
 

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  १९:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update