रविले सार्वजनिक मञ्चबाटै दिए गगनलाई प्रिय लाग्ने सुझाव, सरकारका बारेमा के भने ?

 

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसको सबैभन्दा ठूलो शक्ति उसको लामो राजनीतिक इतिहास भएको बताएका छन्। 

कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको आफूले सधैँ सम्मान गर्ने भन्दै उनले कांग्रेसको इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले आफू अहिलेको मञ्चमा सत्तापक्षको भए पनि एक्लो प्रतिपक्षीजस्तो देखिएको बताए। उनले आफू प्रायः एक्लै रहने बानी परेको भन्दै त्यसलाई समेत राजनीतिक प्रसंगसँग जोडेर व्यंग्यात्मक शैलीमा प्रस्तुत गरे।

‘आज यो मञ्चको एक्लो प्रतिपक्षी भएछु। सत्तापक्ष तर यो मञ्चको एक्लो प्रतिपक्ष। प्रायः एक्लो हुने बानी पनि छ मलाई,’ लामिछानेले भने।

लामिछानेले नेपाली कांग्रेसको लामो राजनीतिक इतिहासलाई उसको ठूलो राजनीतिक पुँजीका रूपमा व्याख्या गरे। कांग्रेसले नेपालको लोकतन्त्र स्थापना र राजनीतिक परिवर्तनका लागि गरेको योगदानलाई आफूले सधैँ सम्मान गर्ने उनको भनाइ थियो।

‘नेपाली कांग्रेसको शक्ति इतिहास हो। कमजोर पनि इतिहास हो । कांग्रेसको इतिहासबाट पाठ सिक्नैपर्छ। यसमा हामी पाठ सिकेर अगाडि बढ्नेछौँ,’ सभापति लामिछानेले भने ।

उनले कांग्रेसले विगतमा खेलेको भूमिका र हासिल गरेका उपलब्धिसँगै त्यसका कमजोरीबाट समेत नयाँ पुस्ताले सिक्नुपर्ने बताए। इतिहासलाई केवल गौरव गर्ने विषयका रूपमा नभई आगामी राजनीतिक यात्राका लागि सिकाइका रूपमा लिनुपर्ने उनको भनाइ थियो।

लामिछानेले आफू पनि कांग्रेसमा हुन सक्ने सम्भावनाको प्रसंगसमेत सुनाए। कांग्रेसले नयाँ पुस्तालाई समयमै नेतृत्व र राजनीतिक अवसर दिएको भए आफू कांग्रेसमै हुन सक्ने संकेत गर्दै उनले पार्टीहरूले नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको चाहनालाई सम्बोधन गर्नुपर्ने बताए।

भाषण, नारा र घोषणापत्रमा मात्रै सीमित हुने राजनीति अब पर्याप्त नहुने भन्दै लामिछानेले जनताले राजनीतिक दलको काम र परिणाम हेर्न थालेको बताए। आफूहरूले काम गर्न नसके जनताले निर्वाचनमार्फत निर्णय गर्न सक्ने भन्दै उनले जनताको मतको सम्मान गर्नुपर्ने बताए।

मुलुकको सवालमा भने राजनीतिक दल र झन्डाको भिन्नता गौण हुने लामिछानेको भनाइ थियो। राष्ट्रिय हितका विषयमा सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने उनले बताए।

‘पार्टीको कुरा होइन, मुलुक र देशको कुरा आउँछ त्यतिबेला पार्टी र झन्डा फरक हुँदैन,’ उनले भने।

लामिछानेले वर्तमान सरकार कमजोर भएको चर्चा हुने गरेको भन्दै सरकार नढल्ने दाबी गरे। सरकार परिवर्तनको निर्णय राजनीतिक दलको दबाब वा चर्चाबाट नभई जनताको मतबाट हुने भन्दै उनले निर्वाचनलाई त्यसको आधारका रूपमा प्रस्तुत गरे।

‘सरकार कमजोर भयो भन्ने पनि सुनिन्छ। यो सरकार ढल्दैन, नढलेपछि अरू ढल्छन्,’ उनले भने।

लोकतन्त्रको ठेक्का कुनै एउटा राजनीतिक दलले लिन नहुने भन्दै लामिछानेले लोकतन्त्र खतरामा परे जनताले त्यसको रक्षा गर्ने बताए। आफूहरूलाई हटाउने वा विस्थापित गर्ने अधिकार पनि निर्वाचनमार्फत जनतामै रहेको उनको भनाइ थियो।

‘लोकतन्त्रको ठेक्का नलिनुस्, लोकतन्त्र खतरामा परे जनताले जोगाउँछन् । हामीलाई हटाउन, विस्थापन गर्न चुनावले मात्रै सक्छ,’ उनले भने ।

निर्वाचनबाट जनताले दिएको मतलाई भ्रमित पारेर जनताको निर्णयको अपमान नगर्न उनले आग्रह गरे। आफूहरूले काम गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई डाँडो कटाउन सक्ने भन्दै त्यसलाई स्वीकार गर्ने उनले बताए।

‘हामीले काम गर्न सकेनौँ भने हामीलाई डाँडो कटाउनुस् भनेकै छौँ,’ उनले भने।

लामिछानेले बलिदान र संघर्षबाट प्राप्त लोकतन्त्रका मूल्य र मान्यतालाई कमजोर हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे। लोकतन्त्रलाई तलमाथि पार्ने कुनै प्रयास स्वीकार्य नहुने भन्दै उनले अहिलेको राजनीतिक परिवर्तनको रक्षा सबैको जिम्मेवारी भएको बताए।

कांग्रेसको १५औँ महाधिवेशनमा गगनकुमार थापा सभापतिको नेतृत्वमा आएको नयाँ चरणलाई उल्लेख गर्दै लामिछानेले कांग्रेसले आफ्नो इतिहासबाट सिकेर अघि बढ्नुपर्ने बताए। लामो राजनीतिक इतिहास कांग्रेसको शक्ति भए पनि त्यसलाई नयाँ पुस्ताको चाहना, बदलिँदो राजनीतिक परिस्थिति र जनताको अपेक्षासँग जोडेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

गगनलाई प्रिय सुझावः देउवालाई छोडिदिँदा राम्रो हुन्छ

लामिछानेले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई अब छोडिदिँदा राम्रो हुने सुझाव दिएका छन्।

‘शेरबहादुर देउवालाई फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु,’ लामिछानेले भने।

उनले कांग्रेसको लामो राजनीतिक इतिहासको सम्मान गर्दै पार्टीले अब नयाँ पुस्ता र नयाँ राजनीतिक परिस्थितिअनुसार अघि बढ्नुपर्ने बताए। कांग्रेसको इतिहास उसको ठूलो शक्ति भएको भन्दै उनले त्यसबाट पाठ सिकेर नयाँ यात्रामा अघि बढ्नुपर्ने धारणा राखे। विशेष महाधिवेशनबाट देउवालाई हटाएर आफै सभापति बनेका गगन थापाको लागि लामिछानेको यो सुझाव निकै नै प्रिय सुझाव हो ।

 

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  १९:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update