गगन कांग्रेसको उद्घाटनमा अधिकांश कुर्सी निलो र रातो रंगका, हरियो रंगको घाँस मात्रै, त्यो पनि मिल्नेछ माटोमा

काठमाडौँ । विशेष महाधिवशेनबाट गठन भएको नयाँ नेतृत्वले नेपाली कांग्रेसको १५औं महाधिवेशन गर्दैछ । आज (असोज १८ गते) केन्द्रीय महाधिवेशनको उद्घाटन हुदैछ ।

आजको उद्घाटन शत्रमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । उद्घाटन शत्र काठमाडौँको खुल्ला मञ्चमा आयोजना हुदैछ ।

यो समाचार तयार पार्दा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रतिनिधि तथा समर्थकहरू पञ्चेबाजा, झाँकी र र्‍यालीसहित खुलामञ्च प्रवेश गरिरहेका छन्।

महाधिवेशन उद्घाटनको समय नजिकिँदै जाँदा काठमाडौंका विभिन्न स्थानबाट आएका कांग्रेसका नेता–कार्यकर्ता तथा प्रतिनिधि समूह बनाएर खुलामञ्चतर्फ प्रवेश गरिरहेका छन्। विभिन्न जिल्लाबाट आएका प्रतिनिधिले आ–आफ्नो क्षेत्र र पहिचान झल्काउने झाँकीसमेत प्रदर्शन गरेका छन्।

congress-15th-agm-1791093283.jpg
पञ्चेबाजासहितको र्‍यालीमा सहभागी नेता–कार्यकर्ताले पार्टीका झन्डा तथा विभिन्न नारासहित खुलामञ्चतर्फ प्रवेश गरिरहेका छन्। र्‍यालीका कारण खुलामञ्च आसपासको क्षेत्रमा कांग्रेसका नेता–कार्यकर्ता तथा समर्थकको चहलपहल बढेको छ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी राजनीतिक, सांगठनिक तथा आर्थिक नीति र कार्यक्रमसमेत तय गर्नेछ।

यो महाधिवेशनले गत वर्षको पुस अन्तिम साता कांग्रेसका तत्कालिन महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशनले सर्वसम्मत सभापति चयन गरेको गगन थापालाई सभापति बनाउँदैछ । र, थापा अन्य प्रतिस्पर्धीलाई अन्य पदमा व्यवस्थापन गरेर सर्वसम्मत सभापति बन्ने प्रयत्नमा छन् । 

आजको उद्घाटन शत्रमा राखिएका कुर्सीको रंगले अहिले ठूलो चर्चा पाएको छ । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाको प्रत्यक्ष संलग्नतामा आयोजना भइरहेको उद्घाटन समारोहमा प्लास्टिकका कुर्सी राखिएको छ । 

सबैभन्दा रोचक पक्ष त सो समारोहमा राखिएका अधिकांश कुसीको रंग निलो र रातो छ । निलो रंग राष्ट्रिय स्वतन्त्र पार्टीको ब्राण्ड कलर हो भने रातो रंग कम्युनिष्ट पार्टीहरुले बढी प्रयोग गर्ने प्रचलन छ ।

नेपाली कांग्रेसले हरियो रंगलाई ब्राण्ड कलर बनाएको छ । कांग्रेसको आधिकारिक वेबसाइटमा हरियो रंग नै प्रयोग गरिएको छ । तर, गगन थापा पक्षको नेपाली कांग्रेसले आयोजना गर्न लागेको १५औं महाधिवेशनको उद्घाटन शत्रमा राखिएका अधिकांश कुर्सीको रंग निलो र रातो हुनुलाई चासोको साथ हेरिएको छ ।

यस्तै, केही कुर्सीको रंग भने पहेलो छ । पहेलो रंगलाई तत्कालिन राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको ब्राण्ड कलरका रुपमा चिनिन्छ । पहिला पञ्चायती व्यवस्थामा लागेर पछि कांग्रेस बनेकाहरुलाई गाली गर्नको लागि ‘मण्डले कांग्रेस’ भन्ने शब्दावली प्रयोग गर्ने गरिन्छ ।

संचारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन गरेपछि कांग्रेसका तत्कालिन महामन्त्री गगन थापासँग निकट रहेका धेरै व्यक्तिहरु रास्वपा प्रवेश गरेका थिए । कुनै समय गगनको टिममा बसेर काम गरेका डा. स्वर्णिम वाग्ले, मनिष झा, शिशिर खनाल जस्ता नेताहरु रास्वपाको महत्वपूर्ण जिम्मेवारीमा छन् । यसैकारण नेपाली कांग्रेसभित्र गगन थापाको निकट रहेका कांग्रेसलाई ‘घण्टी कांग्रेस’ भनेर पनि आलोचना गर्ने गरिएको थियो । घण्टी बनेको रास्वपाको चुनाव चिन्ह हो ।

यस्तै, नेपाल कांग्रेसको नेतृत्वमा शेरबहादुर देउवा आएपछि कांग्रेसको निकटता कम्युनिष्टहरुसँग पनि बढ्यो । यसैकारण गगन थापा पक्षले देउवा पक्षलाई कांग्रेसको कम्युनिष्टीकरण गरेको आरोप लगाउने गरेको छ । 

नेपाली कांग्रेसको ब्राण्ड कलर रहेको हरियो रंग भने माटो उम्रिएको घाँसमा मात्रै देखिएको छ । यद्यपि, उद्घाटन शत्रका सहभागीले कुल्चदा अहिले देखिएको हरियो घाँस भने माटोमा मिल्ने सम्भावना अधिक छ ।

 

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update