यी हुन् प्रमुख दलका शीर्ष नेतालाई सँगै राखेर खुल्लामञ्चमा गगन थापाले भनेका कुरा

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्। 

संसद र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको उनले बताएका हुन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यो काठमाडौंको एउटा चौर मात्रै नभएको बताए। नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको र यहीँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अघि बढाएको उनले स्मरण गरे।

‘खुलामञ्च १० वर्षपछि खुलेको छ। यो काठमाडौंको चौर मात्रै होइन । यहाँ बसेर ठूला दल बनेका छन्, यहीँबाट साना पनि बनेका छन्,’ उनले भने ।

जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले समेत खुलामञ्चबाट भाषण गरेको स्मरण गर्दै थापाले खुलामञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको बताए।

‘खुलामञ्चले मतभेदलाई एकै ठाउँमा राख्न सहयोग गर्छ,’ उनले भने।

थापाले अब यस्ता खुलामञ्च देशका विभिन्न ठाउँमा आवश्यक रहेको बताए। त्यसका लागि सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै खुलापन आवश्यक रहेको उनको भनाइ थियो।

‘संसद अहिले खुला छैन। जनतालाई प्रधानमन्त्रीले जनताको ठूलो कुरा नसुनेसम्म खुला रहँदैन,’ उनले भने।

सत्तामा रहेकाहरूले जनताको प्रश्न सुन्नुपर्ने र जनतासँग संवाद गर्नुपर्ने भन्दै थापाले लोकतन्त्रमा जनताको आवाजलाई बन्द गर्न नहुने बताए। संसद जनताको आवाज र प्रश्नको प्रतिनिधित्व गर्ने थलो भएकाले त्यसलाई थप खुला र उत्तरदायी बनाउनुपर्ने उनको भनाइ थियो।

थापाले पहाडदेखि तराईसम्म र भौतिक ठाउँदेखि विद्युतीय माध्यमसम्म खुला संवादका थलो आवश्यक रहेको बताए। नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण देशभर बनाउनुपर्ने उनको धारणा थियो।

पार्टीभित्र पनि यही संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै थापाले नेतामाथि प्रश्न उठाउँदा पार्टी सदस्यता नै गुम्ने अवस्था अन्त्य गर्नुपर्ने बताए।

‘पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ। नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ उनले भने।

उनले फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकारलाई पार्टीभित्रै संस्थागत गर्नुपर्ने बताए। लोकतन्त्र बाहिर मात्रै खोजेर नहुने भन्दै थापाले राजनीतिक दलको आन्तरिक संरचना र कार्यशैली पनि लोकतान्त्रिक हुनुपर्ने धारणा राखे।

‘संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ थापाले भने।

१० वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन आयोजना हुनु पनि खुला संवाद र जनताबीचको सम्बन्धलाई पुनः स्थापित गर्ने प्रतीक भएको उनको भनाइ थियो। खुलामञ्चलाई राजनीतिक सभा गर्ने ठाउँका रूपमा मात्रै नभई प्रश्न, संवाद, असहमति र विचार आदानप्रदानको खुला थलोका रूपमा विकास गर्नुपर्ने उनले बताए।

‘म्युजिकल चियरजस्तो बनेको थियो । प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने, सत्ता नछोड्ने । यसले सबै पार्टी र नेता सबै एउटै हुन्, सबै खराब हुन् भन्ने सन्देश गयो,’ उनले भने ।

राजनीति समाजका हरेक क्षेत्रमा हाबी भएको भन्दै थापाले सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म अत्यधिक राजनीतिकरण भएको बताए। फेसबुकदेखि ट्विटरलगायतका माध्यममा हरेक विषयलाई राजनीतिक दृष्टिले हेर्ने प्रवृत्ति बढेको उनको भनाइ थियो।

‘अति राजनीति पनि छ। फेसबुकदेखि ट्विटरदेखि सबै क्षेत्रमा राजनीतिका कुरा हुन्छ। फेरि जनता हाइपर पोलिटिक्सतिर गयो। जे भए पनि राजनीतिको आँखाले हेर्न थालियो,’ उनले भने।

राजनीतिक दल र नेतृत्वप्रतिको असन्तुष्टि विस्तारै बढ्दै गएर ‘भुसको आगो’ जस्तो बनेको थापाले बताए। त्यसले कुनै एउटा दल वा नेतालाई मात्रै नभई समग्र राजनीतिक प्रणाली र नेतृत्वलाई नै प्रभावित गरेको उनको भनाइ थियो।

‘यो भुसको आगोले सबैलाई एकैपटक खायो,’ उनले भने।

थापाले दुई पार्टी मिलेर बनेको दुईतिहाइको सरकार र त्यसको कार्यशैलीबारे जनतासँग पर्याप्त संवाद हुन नसकेको बताए। राजनीतिक दलहरूले बदलिँदो जनभावना र असन्तुष्टिलाई समयमै बुझ्न नसक्दा भदौ २३ र २४ गतेको परिस्थिति आएको उनको भनाइ थियो।

‘दुई पार्टी मिलेर बनेको थियो दुईतिहाइको सरकार। सबैले थाहै पाएनन्, जसका कारण भदौ २३ र २४ आयो,’ थापाले भने।

भदौ २३ र २४ को घटनाबाट कांग्रेससहित अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ता समेत प्रभावित भएको उनले बताए। त्यसबाट पाठ सिक्दै कांग्रेसले आफूलाई सम्हाल्न विशेष महाधिवेशनमा गएको उनले स्मरण गरे।

‘यहीँ हामीले बुझेनौँ। यसले कांग्रेस र अन्य पार्टीका नेता र कार्यकर्ता पनि भिक्टिम भए। तर पनि हामी सम्हालिनुपर्छ भनेर विशेष महाधिवेशनमा गयौँ,’ उनले भने।

विशेष महाधिवेशनपछि कांग्रेस निर्वाचनमा गएको तर परिणाम आफ्नो पक्षमा आउन नसकेको उनले बताए। कांग्रेसले यसअघि पनि विभिन्न निर्वाचनमा हार र जित व्यहोर्दै आएको उल्लेख गर्दै थापाले अहिले पार्टी नयाँ महाधिवेशनको चरणमा प्रवेश गरेको बताए।

‘त्यसपछि चुनावमा गयौँ, तर हाम्रो पक्षमा आएन। कांग्रेसले धेरै चुनावमा हार्ने र जित्ने गरेको छ। अब नयाँ महाधिवेशनमा अहिले होमिएका छौँ,’ उनले भने।

थापाले १५औँ महाधिवेशनलाई विगतका कमजोरीको समीक्षा गर्दै कांग्रेसलाई नयाँ राजनीतिक यात्रामा अघि बढाउने अवसरका रूपमा लिनुपर्ने बताए। जनतामा बढेको राजनीतिक वितृष्णा र दलहरूप्रतिको अविश्वास चिर्न कांग्रेसले आफ्नो नेतृत्व, व्यवहार र राजनीतिक कार्यशैलीमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।

थापाले लोकतन्त्र र जनतालाई प्रत्यक्ष सेवा तथा परिणामसँग जोड्ने पुलको काम कांग्रेसले गर्नुपर्ने बताए । मुलुकमा लामो राजनीतिक संघर्ष र परिवर्तन भए पनि रोजगारी सिर्जना, युवा पलायन रोक्ने र जनताको जीवनस्तर सुधार्ने विषयमा अब सबै राजनीतिक दल मिलेर गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ छ।

थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनेको वर्तमान राजनीतिक अवस्थालाई पनि विगतको राजनीतिक यात्रासँग जोडेर हेर्नुपर्ने बताए।

‘३५ वर्षभित्र युद्ध व्यहोर्‍यौँ । शान्ति प्रक्रियामा पनि यहीँ भयो। यही ३५ वर्षभित्र सबै गाउँ रित्तिए। किन रोजगारी भएन ? युवा किन पलायन भयो ?’ थापाले प्रश्न गरे।

मुलुकले लामो समय राजनीतिक संघर्ष र संक्रमण व्यहोरे पनि त्यसको प्रतिफल जनताको दैनिक जीवनमा पर्याप्त रूपमा पुग्न नसकेको भन्दै उनले यसको कारण सबै राजनीतिक दलले मिलेर खोज्नुपर्ने बताए। राजनीतिक परिवर्तनसँगै आर्थिक र सामाजिक रूपान्तरणलाई पनि सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ थियो।

‘यो विषय हामी सबै मिलेर खोज्नुपर्छ। हामी महाधिवेशनमा यही कुरा डेलिभरी दिनका लागि के गर्ने, कांग्रेस कस्तो बनाउने भनेर मन्थन गर्नेछौँ,’ थापाले भने।

कांग्रेसले अब लोकतन्त्रको कुरा मात्रै नगरी जनतालाई परिणाम दिने राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्नुपर्ने उनले बताए। लोकतान्त्रिक व्यवस्था र जनताको अपेक्षाबीचको दूरी घटाउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने उनको भनाइ थियो।

‘डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ । पुराना र नयाँ पुस्तालाई जोड्ने काम कांग्रेसले गर्छ। यही संकल्प गर्छ,’ थापाले भने ।

कांग्रेस कमजोर वा निष्क्रिय हुँदा लोकतान्त्रिक व्यवस्था र जनताबीचको विश्वासमा समेत असर पर्न सक्ने उनले बताए। कांग्रेसले आफूलाई जनताको आवश्यकता र अपेक्षासँग जोडेर अघि बढाउनुपर्ने उनको भनाइ थियो।

‘आजको दिनमा नेपाली कांग्रेस बन्द भयो भने के हुन्छ भन्ने कुरा जनताले सोच्नुपर्ने बनाउने काम गर्नुपर्छ । पुल ढल्यो भने विश्वास ढल्छ। त्यो विश्वासका लागि कांग्रेसले काम गर्नुपर्ने छ,’ उनले भने ।

थापाले कांग्रेसले आफ्नो राजनीतिक सिद्धान्त र मूल्यमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताए। तत्कालको राजनीतिक लाभका लागि सिद्धान्तसँग सम्झौता गर्ने प्रवृत्तिबाट पार्टी टाढा रहनुपर्ने उनको भनाइ थियो।

‘हामी लाउलापाते होइनौँ, हामी स्पष्ट हुन्छौँ। सिद्धान्तमा अडिनुपर्दा पाँच वटा चुनाव हार्न तयार छौँ, तर सिद्धान्तसँग सम्झौता गर्दैनौँ भन्ने हुनुपर्छ,’ उनले भने।

आर्थिक विकास र रोजगारी सिर्जनाका लागि निजी क्षेत्र तथा उद्योगी व्यवसायीको भूमिकालाई सम्मान गर्नुपर्नेमा पनि थापाले जोड दिए। उद्योगीले सम्मान पाउने वातावरण निर्माण गर्नुपर्ने भन्दै उनले उत्पादन, लगानी र रोजगारी विस्तारलाई राजनीतिक प्राथमिकतासँग जोड्नुपर्ने बताए।

निर्वाचन आउने र जाने भए पनि त्यसको महत्वलाई बेवास्ता गर्न नहुने थापाले बताए। निर्वाचनको परिणाम महत्वपूर्ण भए पनि तत्कालको चुनावी लाभभन्दा दीर्घकालीन रूपमा देश र जनताको हितमा काम गर्ने राजनीतिक संस्कार आवश्यक रहेको उनको भनाइ थियो।

थापाले १५औँ महाधिवेशनलाई कांग्रेसको नेतृत्व परिवर्तन गर्ने मात्रै नभई पार्टीको आगामी राजनीतिक दिशा, नीति र जनतालाई परिणाम दिने क्षमताबारे गम्भीर मन्थन गर्ने अवसरका रूपमा अघि बढाउने बताए।

उनले बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ भन्ने विश्वासका साथ १५औँ महाधिवेशनबाट नयाँ ऊर्जा र संकल्प लिएर बाहिरिनुपर्ने बताएका छन्।

थापाले महाधिवेशनलाई नेतृत्व चयनको प्रक्रियामा मात्रै सीमित नगरी पार्टीको विगत, वर्तमान र आगामी बाटोबारे गम्भीर समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। कांग्रेसले आफूलाई बदल्दै जनताको अपेक्षा र मुलुकको आवश्यकताअनुसार अघि बढ्नुपर्ने उनको भनाइ थियो।

‘बदलिएको कांग्रेसले यो देश पनि बदल्छ भन्ने विश्वास लिएर यो महाधिवेशनबाट जानुपर्ने छ। यो सफल पारेर ऊर्जा लिएर जानुपर्ने छ,’ थापाले भने।

उनले देशको पछिल्लो अवस्थालाई हेर्दा उत्सवका रूपमा मात्रै महाधिवेशन गर्न आफूहरूलाई सहज नभएको बताए। रसुवामा आएको बाढीपहिरोका कारण हजारौँ नागरिकले ज्यान गुमाएको र धेरै परिवार पीडामा रहेको स्मरण गर्दै थापाले यस्तो अवस्थामा महाधिवेशन गर्न आफूलाई मन नभएको बताए।

‘रसुवाको बाढीले हजारौँ नागरिक हामीमाझ हुनुहुन्न। यो महाधिवेशन गर्न मन थिएन। तर संविधान र कानुनको परिधिका कारण बाध्य भयौँ,’ उनले भने।

थापाले कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमलाई गम्भीर रूपमा आत्मसमीक्षा गर्नुपर्ने बताए। लामो समयदेखि एउटै नेतृत्व, एउटै पद र सत्ताको वरिपरि घुमिरहेको राजनीतिले जनतामा सबै दल र नेता उस्तै हुन् भन्ने धारणा बन्न पुगेको उनको भनाइ थियो।

उनले राजनीतिलाई ‘म्युजिकल चियर’ जस्तो बनाइएको बताए। प्रधानमन्त्री बन्ने, फेरि प्रधानमन्त्री बन्ने, मन्त्री बन्ने र फेरि त्यही पदमा दोहोरिने प्रवृत्तिले राजनीतिक नेतृत्वप्रति जनताको विश्वास कमजोर बनाएको उनको भनाइ थियो।

‘म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो, जसले भदौ २३ र २४ आयो,’ उनले भने।

थापाले सामाजिक सञ्जालदेखि समाजका विभिन्न तहसम्म अत्यधिक राजनीतीकरण भएको बताए। फेसबुक, ट्वीटरलगायतका माध्यमदेखि दैनिक जीवनका विषयसम्म राजनीतिक आँखाबाट हेर्ने अवस्था बनेको भन्दै उनले त्यसले समाजमा असन्तुष्टि र ध्रुवीकरण बढाएको बताए।

उनले भदौ २३ र २४ को घटनालाई त्यसैको परिणामका रूपमा व्याख्या गरे। त्यसपछि कांग्रेसले आफूलाई सम्हाल्न र सच्याउन विशेष महाधिवेशन गरेको तथा त्यसपछि भएको निर्वाचनमा जनताको फैसला स्वीकार गर्नुपरेको उनले बताए।

कांग्रेसले विगतमा धेरै निर्वाचन जितेको र धेरै निर्वाचन हारेको उल्लेख गर्दै उनले हारलाई निराशाको कारण बनाउन नहुने बताए। अहिलेको महाधिवेशनलाई पार्टीले नयाँ बाटो तय गर्ने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो।

थापाले कांग्रेसले विगतका राजनीतिक उपलब्धिको चर्चा गरेर मात्रै अबको चुनौती सामना गर्न नसक्ने बताए। मुलुकमा राजनीतिक परिवर्तन भए पनि त्यसअनुसार आर्थिक र सामाजिक परिवर्तन हुन नसकेको विषयमा कांग्रेसले गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।

उनले लामो समय मुलुकमा राजनीतिक संघर्ष र द्वन्द्व चले पनि जनताको जीवनमा अपेक्षित परिवर्तन आउन नसकेको बताए।

 

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  २०:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update