काठमाडौं - नेपाली कांग्रेसले संसदीय दलको नेता चयन पेचिलो बनिरहेका बेला केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बैठक सोमबार ११ बजेका लागि बोलाइएको हो ।
उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ ।
कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ। पार्टीले दलको नेता चयन गर्नका लागि बनाएको निर्वाचन समिति संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले भोलि दलको नेता चयन हुने जानकारी दिए । यसका लागि सोमबार बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको पनि उनले जानकारी दिए ।
सहमहामन्त्री रसाइलीका अनुसार भोलि बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने कार्यसम्पादन बैठकमा सभापति गगनकुमार थापाले सर्वसहमतिका लागि दलको नेतामा नाम घोषणा गर्ने तयारी भएको छ ।
सभापति थापाले बैठकमा दलको नेतामा सर्वसम्मत नाम अनुमोदन गराएपश्चात् दिउँसो १ बजे सिंहदरबारमा संसदीय दलको बैठक बस्नेछ । उक्त बैठकले कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्दै सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने रसाइलीले जानकारी दिए ।
‘कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि ११ बजे बस्छ । बैठकमा सभापतिले संसदीय दलको नेता घोषणा गर्नुहुन्छ । १ बजे सांसदहरूसँग दलको कार्यालयमा बैठक राखेर नेता चयनले पूर्णता पाउनेछ‚’ उनले लोकान्तरसँग भने ।
एक महिनाभन्दा बढी समयदेखि कांग्रेस संसदीय दलको नेता चयन हुन सकेको छैन । पार्टी उपसभापति विश्वप्रकाश शर्माले चैतमा पोखरा पुगेर बोल्दै नयाँ वर्षमा दलको नेता चयन हुने बताएका थिए ।
सोही अनुरूप वैशाख ४ मा नेता चयन गर्ने भनिएको थियो । तर‚ उक्त मितिलाई सारेर वैशाख ८ हुँदै ११ गते पुर्याइएको थियो । ११ वैशाखमा पनि दलको नेता चयन हुन सकेन । सो कार्यतालिका स्थगन गर्दै सहमतिमा दलको नेता चयन गर्ने कांग्रेसले बताएको थियो ।
वैशाख ११ मा बसेको कार्यसम्पादन समिति बैठकले सहमतिमा नेता चयन गर्न उपसभापति विश्वप्रकाश शर्मासहित ७ जनालाई जिम्मेवारी दिएको थियो । सोही अनुसार भोलि सोमबार दलको नेता चयन हुने बताइएको छ ।
दलको नेतामा मुख्य रूपमा भीष्मराज आङदेम्बे र मोहन आचार्य दाबेदार छन् । यस्तै, नेता अर्जुननरसिंह केसीले पनि दलको नेता बन्न चाहेका छन् ।
कांग्रेस स्रोतका अनुसार दलको नेता चयनमा सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा २ ध्रुवमा बाँडिएका छन् । सभापति थापा मोहन आचार्य र उपसभापति शर्मा भने भीष्मराज आङ्देम्बेलाई बनाउने लबिङमा छन् । यी दुईबीच कुरा नमिल्दा दलको नेता चयनमा ढिलाइ भएको नेताहरू बताउँछन् ।






