कास्की । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला विजयी भएका छन् ।
पोखरामा वैशाख २७ गतेदेखि सुरु भएको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज सम्पन्न मतदानमा सिटौलाले एक हजार ३० मत ल्याएर विजयी भएका हुन । उनका प्रत्यासी हरिशरण केसीले ४६४ मत प्राप्त गरे ।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, एनकुमार साइ र केदार पौडेल विजयी भएका छन् । उपाध्यक्षहरुमा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी विजयी भए । सात उपाध्यक्ष पदका लागि १३ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।
महासङ्घको मालवाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ र महासचिवमा डेकनाथ गौतम विजयी भए । त्यसैगरी, उपमहासचिवमा देविन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम सिंखडा विजयी भए । सचिवमा उमेश केसी, चेतप्रसाद गौतम र टंकप्रसाद बस्याल निर्वाचित भए । कोषाध्यक्षमा राजेन्द्र आचार्य ७१६ मत ल्याएर विजयी भए । सहकोषाध्यक्षमा शोभाखर पौडेल विजयी भए निर्वाचन समितिका संयोजक कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए । महाधिवेशनबाट कूल ७८ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।
नवनिर्वाचित अध्यक्ष सिटौलाले नेपालको सार्वजनिक यातायात सुधारका लागि सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । “यातायात क्षेत्रमा धेरै समस्या छन्, नयाँ सरकार बनेको छ । हामी सरकारसँग मिलेर यस क्षेत्रको सुधारका लागि काम गर्नेछौँ”, उनले भने ।
महाधिवेशनमा देशभरबाट सार्वजनिक यातायात सञ्चालन गर्ने समिति, कम्पनी, प्रालि तथा सहकारीका गरी दुई हजार प्रतिनिधि र पर्यवेक्षक सहभागी थिए ।





