काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राष्ट्रिय उत्पादन वृद्धि, युवालाई स्वदेशमै रोजगारी, सुकुमवासी समस्या समाधान तथा सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
छलफलमा भाग लिँदै सांसद चन्द्रबहादुर केसीले नेपाली श्रमशक्ति निरन्तर विदेशिने र गाउँबस्ती रित्तिँदै जाने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । उनले राष्ट्रिय उत्पादन वृद्धि र स्वदेशमै रोजगारी सिर्जनालाई प्राथमिकता दिने विषयमा नीति तथा कार्यक्रम प्रभावकारी बन्न नसकेको टिप्पणी गरे ।
सरकारले चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको वाचापत्रअनुसार काम गर्नुपर्ने उल्लेख गर्दै उनले विदेशिएका नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाउनुपर्छ भने ।सांसद केसीले प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धमा नीति तथा कार्यक्रममा स्पष्टता नभएको बताए ।
सांसद जयन्तीदेवी राईले नीति तथा कार्यक्रममा केही सकारात्मक पक्ष भए पनि जनअपेक्षाअनुसारका विषय समेटिन नसकेको बताए । उनले दिगो विकास हासिल गर्ने स्पष्ट नीति अभाव रहेको उल्लेख गर्दै उद्यमी तथा मध्यमवर्गलाई कर छुट दिने व्यवस्था सकारात्मक रहेको बताए ।
सांसद राईले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्ने स्पष्ट नीति आवश्यक रहेको बताउँदै तीनखम्बे अर्थनीतिको विषय नीति तथा कार्यक्रममा उल्लेख नभएको टिप्पणी गरे । साथै सामाजिक न्याय र लोककल्याणकारी राज्यको अवधारणा पनि नीति तथा कार्यक्रममा पर्याप्त रूपमा नसमेटिएको उनको भनाइ थियो ।
यसैगरी, सांसद रामकुमारी झाँक्रीले नीति तथा कार्यक्रममा बुँदा घटाइएको र पुरानै विषयको निरन्तरता मात्रै देखिएको बताए । उनले सुशासन र आर्थिक समृद्धिको स्पष्ट मार्गचित्रसहित बजेट आउनुपर्ने धारणा राखे ।
सांसद झाँक्रीले भू–उपयोग सम्बन्धी कानुन संशोधन गरी सिँचाइ व्यवस्थालाई प्रभावकारी बनाउने तथा भूमिको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।





