काठमाडाैं । सूर्यविनायक नगरपालिकाले वर्षायाममा हुनसक्ने प्राकृतिक जोखिम र जथाभाबी जमिन उत्खननलाई रोक्न नगर क्षेत्रभित्र मेसिनरी औजारको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । नगरपालिकाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै जेठ १ गतेदेखि लागू हुने गरी डोजर, जेसिभी तथा स्काभेटर जस्ता उपकरण सञ्चालनमा रोक लगाएको हो ।
नगरपालिकाका अनुसार नगर क्षेत्रभित्र अनुमति नलिई जग्गा सम्याउने, घडेरी निर्माण गर्ने र जग खन्ने जस्ता कार्यमा मेसिनरी औजारको जथाभाबी प्रयोग भएको जनगुनासो आएपछि स्थानीय सरकारले यस्तो कदम चालेको हो । नगर कार्यपालिकाको गत वैशाख ३० गते बसेको बैठकले वर्षायाम सुरु भइसकेको सन्दर्भमा भू(क्षय र वातावरणीय सन्तुलन बिग्रन नदिन यस्तो निर्णय गरेको जनाइएको छ ।
अटेर गरे भारी जरिवाना
नगरपालिकाले जारी गरेको सूचनामा नियम उल्लंघन गर्नेलाई कडा आर्थिक दण्डको व्यवस्था गरिएको छ । सूचनाको बेवास्ता गरी मेसिनरी औजार प्रयोग गरेमा वा गराइएमा प्रचलित कानुन तथा नगरपालिकाको "आर्थिक ऐन, २०८२ (प्रथम संशोधन) बमोजिम ३ लाख रुपैयाँसम्म जरिवाना गरिने उल्लेख छ ।
'वर्षाको समयमा जमिन चलाउँदा पहिरो र अन्य जोखिम बढ्ने भएकाले हामीले कडाइ गरेका हौँ' नगरपालिकाको सूचनामा भनिएको छ, 'अनुमति बिना सञ्चालन भइरहेका यस्ता गतिविधिलाई यथाशीघ्र रोक्न र नियमन गर्न प्राविधिक तथा सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।'
अनधिकृत प्लटिङ र उत्खनन लक्षित
पछिल्लो समय नगरपालिकाका विभिन्न वडामा विना इजाजत डाँडा काट्ने र प्लटिङ गर्ने क्रम बढेको भन्दै नगरपालिकाले त्यस्ता कार्यलाई कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ । सूचनामा भनिएको छ, 'अनुमति प्राप्त नगरी भइरहेका गतिविधिलाई रोकी अटेरी गर्नेलाई कानुनी कारबाही गरिनेछ ।'
नगरपालिकाले यो सूचनालाई गम्भीरतापूर्वक लिन र विकास निर्माणका कार्य गर्दा अनिवार्य रूपमा स्थानीय सरकारको अनुमति लिन सम्पूर्ण नगरवासी र निर्माण व्यवसायीहरूलाई आह्वान समेत गरेको छ ।






