अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबार गर्न लागेको ठूलो हमला रोकेको घोषणा गरेका छन् ।
उनले साउदी अरब, कतार र यूएईसहितका खाडी देशले वार्ताका लागि केही समय माग गरेपछि आक्रमण रोकेको दाबी गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा गम्भीर वार्ता चलिरहेको भन्दै अमेरिका र पश्चिम एसियाली देशले स्वीकार गर्नसक्ने सम्झौता हुनसक्ने उल्लेख गरेका छन् ।
ट्रम्पले रक्षामन्त्री पिट हेगसेथ, ज्वाइन्ट चिफ अफ स्टाफका अध्यक्ष ड्यालिल केन र अमेरिकी सेनालाई मंगलबारको आक्रमण रोक्न निर्देशन दिएको बताएका छन् ।
यद्यपि ट्रम्प सम्झौता नभएमा अमेरिकी सेना कुनै पनि समयमा ठूलो स्तरमा हमला गर्न तयारी अवस्थामा रहेको बताएका छन् । उनले प्रस्तावित सम्झौताको सबैभन्दा प्रमुख शर्त इरानसँग परमाणु हतियार हुन नहुने रहेको समेत उल्लेख गरेका छन् ।
यता इरानले भने ट्रम्पको हमला रोकेको अभिव्यक्तिको जवाफ दिँदै इरानी सेना जवाफी हमलाका लागि तयार रहेको प्रतिक्रिया दिएको छ । इरानले यसअघि कहिल्यै नदेखेको प्रत्याक्रमण इरानले गर्ने दाबी समेत गरेको छ ।






