काठमाडौँ । रौतहटको चन्द्रपुर नगरपालिकाले आफ्नो मातहतका सरकारी कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरूको सञ्चालन समय र साप्ताहिक बिदा परिमार्जन गरेको छ।
नगर कार्यपालिकाको गत जेठ ४ गतेको बैठकको निर्णयानुसार आगामी जेठ १० गतेदेखि लागू हुने गरी नयाँ समय तालिका निर्धारण गरिएको हो।
नगरपालिकाले जारी गरेको सूचना अनुसार नयाँ व्यवस्थालाई दुई क्षेत्रमा विभाजन गरिएको छ । विद्यालयहरू साविककै तालिकामा चल्ने भएका छन् भने नगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूको हकमा भने कुनै परिवर्तन गरिएको छैन। ती विद्यालयहरू साविक बमोजिम नै आइतबारदेखि शुक्रबारसम्म नियमित सञ्चालन हुनेछन्।
कार्यालय समयमा हेरफेर
नगरपालिका अन्तर्गतका विभिन्न प्रशासनिक कार्यालय र आकस्मिक सेवाका शाखाहरूको समयमा भने परिमार्जन गरिएको छ।
नगरपालिकाको मुख्य कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य, पशुसेवा र कृषि शाखा तथा अस्पतालहरू आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्नेछन्।
शुक्रबार भने यी कार्यालयहरू बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र खुला रहनेछन्।
नगर प्रमुख सञ्जय कुमार काफ्लेद्वारा जारी सूचनामा नयाँ व्यवस्थाले प्रशासनिक कार्य चुस्त बनाउन र सर्वसाधारणलाई सेवा लिन सहज हुने विश्वास लिइएको छ। नगरपालिकाले नयाँ कार्यतालिका अनुसार नै सेवा प्रवाह र विद्यालय सञ्चालन गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ।
यता संघ सरकारले भने शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस्तै, विद्यालयहरु पनि आइतबार विदा गर्न संघ सरकारको निर्देशन छ । शुक्रबार भने विहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म कार्यालय समय कायम गर्ने संघ सरकारको निर्णय छ ।
चन्द्रपुर नगरपालिकाले भने संघ सरकारको निर्णयभन्दा फरक निर्णय गरेर लागू गरेको हो । सो नगरपालिकाले शनिवार सार्वजनिक विदा दिने निर्णय गरेको छ भने आइतबार पनि कार्यालय खुल्ला रहने छन् । यस्तै, कार्यालय समय पनि विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म कायम गरिएको छ ।






