चन्द्रपुर नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा उन्नत धानको बिउ वितरण सुरु

रौतहट । चन्द्रपुर नगरपालिकाले नगर क्षेत्रभित्रका किसानहरूका लागि ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बिउ वितरण कार्यक्रम सुरु गरेको छ।

नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८२र०८३ को ससर्त अनुदान खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा मूल्य अनुदान तर्फबाट उक्त बिउ वितरण गर्न लागेको हो।

कृषि विकास शाखाका अनुसार इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी तथा कृषि फार्महरूले आवश्यक कागजात सहित आवेदन दिएर यो सुविधा लिन सक्नेछन्। बिउ वितरण कार्यक्रम मिति २०८३ जेठ १ गतेदेखि सुरु भई असार ३० गतेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले विभिन्न ५ जातका उन्नत धानका बिउहरू उपलब्ध गराएको छ, जसमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ ।

अनुदानको बिउ प्राप्त गर्नका लागि आवेदकको प्रकृतिको आधारमा निम्नानुसारका कागजातहरू पेस गर्नुपर्ने कृषि अधिकृत सन्दिप देवकोटाले जानकारी दिए । जस अन्तर्गत व्यक्तिगत कृषकका लागि लालपुर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि (ऐलानी जग्गा भएमा वडा कार्यालयको सिफारिस) आवश्यक छ भने  कृषक समूह र कृषि सहकारीका लागिको लागि संस्था दर्ता तथा नवीकरण प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, कार्यसमितिको निर्णयको प्रतिलिपि, स्थायी लेखा नम्बर  र आव २०८१/२०८२ को कर चुक्ता प्रमाणपत्र।

त्यसैगरी, कृषि फार्मका लागि लालपुर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रतिलिपि र आव २०८१/२०८२ को कर चुक्ता प्रमाणपत्र अवश्यक पर्ने कृषि अधिकृत सन्दिप देवकोटाले जानकारी दिए ।

देवकाेटाका अनुसार यो कार्यक्रम चन्द्रपुर नगरपालिका क्षेत्रभित्रका वास्तविक किसानहरूलाई लक्षित गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले ल्याइएको हो। थप जानकारीका लागि नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।

उपलब्ध हुने धानका जात र मूल्य विवरण 

क्र.सं. धानको जात साविक दर (प्रति केजी) अनुदान रकम (प्रति केजी)
सावा मन्सुली सब-१ रु. ७२/- रु. ३६/-
सावित्री रु. ६९/- रु. ३४.५।-
राधा-४ रु. ६९/- रु. ३४.५।-
हर्दिनाथ-६ रु. ७२/- रु. ३६/-
स्वर्ण सब-१ रु. ६९/- रु. ३४.५।-

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  १२:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update