प्रदेश सरकार गाउँपालिकाको ७२ लाख लागतमा ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

बागलुङ। बागलुङ निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक कालोपत्र गरिएको छ । 

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार र निसीखोला गाउँपालिकाले विनियोजन गरेको ७२ लाख लगातमा ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । 

नेपालको एकमात्र ढोरपाटन सिकार आरक्ष कार्यालयदेखि पश्चिममा रहेको निसेलढोर पर्यटकीय गन्तव्यका रुपमा प्रसिद्ध छ ।

गण्डकी प्रदेश सरकारको ६० लाख र गाउँपालिकाको १२ लाखमा सडक स्तरोन्नति गरिएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँडा मगरले जानकारी दिए । 

बागलुङ जिल्लाकै सबैभन्दा विकट मानिने निसेलढोर ६ वर्ष अगाडिमात्रै मोटरबाटोले जोडिएको थियो । यस वर्ष सडक फराकिलो, नाली निर्माण र केही ठाउँमा ग्राभेलिङको काम गरिएको उनले बताए । 

आर्थिक वर्ष २०७६/७७ मा ढोरपाटनदेखि निसेलढोर जोडिएको थियो । 

ढोरपाटन नगरपालिका–९ को नवी, भुजी हुँदै मसखोलासम्म सडक राम्रो भए पनि त्यसभन्दामाथि सडक भासिने, हिलो हुने हुँदा गाडी नै गुड्न नसक्ने अवस्था थिएन । 

एमएस टीएएस इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सले गत कात्तिक १२ गते जिम्मा पाएकामा वैशाख अन्तिम साता काम सकेको बाँठा मगरले बताए । 

उनले भने, 'सडक स्तरोन्नतिको काम जेठ अन्तिम साता सक्नुपर्ने म्याद थियो, तर निर्माण कम्पनीले वैशाखमै काम सक्यो, यहाँको सडक धेरै साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्न कठिन थियो, अहिले सहज भएको छ, अब यो सडकमा बाह्रै महिना गाडी सञ्चालन हुन समस्या छैन ।'

सडक साँघुरो र अप्ठ्यारो हुँदा निसेलढोरमा बर्खाको करिब पाँच महिना सडक ठप्प हुँदै आएको थियो । सडक स्तरोन्नति भएपछि स्थानीय खुसी भएका छन् । 

स्थानीय सम्झाना रसाइलीले बर्खामा यातायता सञ्चालन नहुने हुँदा जेठमै पाँच महिनाका लागि खाद्यान्न ढुवानी गर्दै आएको भन्दै अब त्यो समस्या हट्ने आशा पलाएको बताइन्। 

अहिले गाउँसम्मकै सडक फराकिलो र व्यवस्थित बनेको उनको भनाइ छ ।

'गाउँमा आउने सडक निकै अप्ठ्यारो हुँदा धेरै दुःख पाएका थियौँ, अब त बर्खामा पनि गाडी चल्ने भयो', उनले भनिन्, 'सडक खुलेदेखि अहिलेसम्म बर्खायाममा गाडी चल्न सकेको थिएन, यसपालि त सरकारले बाटो राम्रो बनाउनुभयो, गाडी आउला भन्ने लागेको छ ।'

एक दशक अगाडिसम्म बर्खाको समयमा मात्रै निसीबाट वस्तुभाउ लिएर बस्ने स्थानीय अहिले बाह्रै महिना निसेलढोरमा बस्न थालेका छन् । 

अहिले बर्खामा ३ सय र हिउँदमा झन्डै १५० घरपरिवार निसेलढोरमा बसोबास गर्छन् । 

निसेलढोरमा आलु, स्याउ र सिमीलगायत कृषिजन्य उत्पादन राम्रो हुने तर सडकको दुरावस्थाका कारण बजारीकरणका लागि समस्या थियो । 

अब सहज हुने स्थानीय कुमबहादुर घर्तीले बताए। सडकको दुरावस्थाका कारण अहिलेसम्म स्थानीय उत्पादन बजारीकरण गर्न सकिएको छैन ।

प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३  ०८:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update