दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

बागलुङ। गलकोट नगर अस्पतालको सुविधासम्पन्न भवन निर्माणका लागि आवश्यक जग्गा खरिदका लागि दुई करोड ७९ लाख रकम स्थानीयस्तरबाटै जुटाइएको छ ।
 
अस्पतालको जग्गा व्यवस्थापन, खरिद तथा स्वास्थ्य उपकरण खरिदका लागि सञ्चालन गरिएको सहयोग अभियानबाट उक्त रकम संकलन गरिएको हो ।

गलकोट नगरपालिका आर्थिक तथा जग्गा व्यवस्थापन समितिका कोषाध्यक्ष टंकबहादुर केसीका अनुसार अभियानमार्फत हालसम्म दुई करोड ७९ लाख ६२ हजार रूपैयाँ संकलन गरिएको हो । 

रकममध्ये दुई करोडबाट अस्पतालको जग्गा खरिदमा खर्च गरिएको छ भने १९ लाख १० हजार बराबरको एक्स–रे मेसिन खरिद गरिएको छ । 

समितिका अनुसार हालसम्म दुई करोड २१ लाख ७५ हजार खर्च भइसकेको छ भने ७२ लाख ८७ हजार बैंक मौज्दात छ ।

गलकोट नगर अस्पतालको स्तरवृद्धि, पूर्वाधार विस्तार तथा दीर्घकालीन विकासका लागि आवश्यक जग्गा व्यवस्थापन गर्ने उद्देश्यले आर्थिक तथा जग्गा व्यवस्थापन समिति गठन गरी सहयोग सङ्कलन गरिएको थियो । 

अभियानमा देशका विभिन्न जिल्ला तथा विदेशमा रहेका गलकोटवासीले आर्थिक सहयोग गरेका थिए । गाउँमै अस्पतालको सुविधासम्पन्न भवनसँगै अन्य पूर्वाधार थप गर्न स्थानीय जुटेका थिए ।
 
गलकोट नगरपालिका–५ हरिचौरस्थित गलकोट नगरपालिका अस्पतालअघिको जग्गा अस्पतालको नाममा बनाउन स्थानीयले सक्रियता जनाएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । 

उनले गलकोट नगर अस्पतालको स्तरवृद्धि र गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि स्थानीयले झन्डै तीन करोड जुटाएकामा खुसी व्यक्त गरे । 

अस्पताललाई थप व्यवस्थित, सुविधासम्पन्न र नागरिकमैत्री बनाउने लक्ष्यसहित जग्गा व्यवस्थापन अभियान सञ्चालन गरिएको थियो । 

गलकोट नगर अस्पतालमा थप स्वास्थ्य सेवा विस्तार, आधुनिक उपकरण व्यवस्थापन तथा विशेषज्ञ चिकित्सकीय सेवा सञ्चालनका लागि जग्गा व्यवस्थापनले सहज भएको गलकोट नगर अस्पतालका प्रमुख डा.राजेश शर्माले बताए । 

अस्पताल स्तरोन्नतिका लागि अस्पतालसँग जोडिएको झन्डै साढे दुई रोपनी जग्गा अस्पतालका नाममा ल्याइएको हो । 

अस्पताल स्तरोन्नतिका लागि अस्पतालका नाममा जग्गा आवश्यक भएकाले स्थानीयको सक्रियतामा जग्गा खरिद गरिएको गलकोट नगरपालिका–५ हरिचौरका वडाध्यक्ष पवन हमालले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update