हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला। हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली सिमकोट पुगेको छ ।
 
 प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेल नेतृत्वको टोली आइतबार सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए । 
   
 उनका अनुसार दुई जिल्लाबीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न आएको टोली  घटना भएको क्षेत्र लामपाटा, च्याचौर क्षेत्र पुगेर सिमकोट पुगेको हो । 

टोलीले सिमकोट बसाइँका क्रममा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति र सीमा जोडिएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक अगुवासँग घटनाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ । 
    
यसअघि, गत जेठ २ गतेदेखि ४ गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिकबीच भएको झडपले उग्रहरुप लिएपछि गृहमन्त्रालयले टोली गठन गरेको थियो । 

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रूपैयाँ बजेट विनियोजन गरेर उक्त क्षेत्रमा प्रहरीचौकी निर्माण सुरु गरेपछि विवाद भएको हो । 

सीमा विवादले उग्ररुप लिँदा लाम्पाटामा दुई जिल्लाका स्थानीयबीच झडप हुँदा बाजुराका चार जना घाइते भएका थिए । घाइते चारै जनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । 

सोही विवाद समाधान गर्न यही जेठ ११ गते नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा अध्ययन टोली र नेपाल प्रहरीका एसएसपी विमलराज पौडेलको संयोजकत्वमा छुट्टाछुट्टै समिति गठन गरिएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  ०९:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update