महानगरले चक्रपथमा थप्यो १६ वटा विद्युतीय बस

काठमाडौं। महानगर यातायात प्रालिले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । 

काठमाडौं उपत्यकाको चक्रपथमा बुधबारदेखि सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ । 

विद्युतीय बस सञ्चालन खर्च कम र प्राविधिक सरल भएकाले डिजेल बसको तुलनामा राम्रो आम्दानी भइरहेको बताइएको छ । 

अत्याधुनिक सुविधा समावेश गरिएका आरामदायी सिटको व्यवस्था गरिएको नयाँ विद्युतीय बसहरू ३३ सिट क्षमताका  छन् । यात्रु सुरक्षाका आधुनिक प्रणाली तथा व्यवस्थित संरचनाका कारण बसहरू सुविधा सम्पन्न छन् ।

शशिला मोटर्स प्रालिले चीनबाट आयात गरेको यी बसहरूमा १४४ किलोवाट क्षमताको सिएटिएल ब्याट्री जडान गरिएको बसको एक पटक पूर्ण चार्ज गरेपछि  करिब २०० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता छ । 

प्रत्येक बसको मूल्य एक करोड ३१ लाख ९० हजार रहेको कम्पनीले जनाएको छ ।

सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले विद्युतीय सवारीसाधनको विकल्प अब अनिवार्य बन्दै गएको बताउँदै कम्पनीले यस क्षेत्रमा थप लगानी विस्तार गर्ने योजना रहेको जानकारी दिए । 

प्रारम्भिक लगानी उच्च भए पनि विद्युतीय बस व्यावसायिक रूपमा उपयुक्त रहेको र आम्दानीका हिसाबले पनि प्रभावकारी  रहेको उनले बताए । 

महानगर यातायात प्रालिका सञ्चालक समिति सदस्य धर्मराज रिमालले यसअघि १२ विद्युतीय बस सफलतापूर्वक सञ्चालनमा आइसकेका जानकारी दिँदै पछिल्लो चरणमा बस थप गरिएको बताए । 

बसको चाबी हस्तान्तरण कार्यक्रममा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले ठूलो आकारका विद्युतीय बसहरूको प्रवर्द्धन आजको आवश्यकता भएको बताउँदै यी बसहरू व्यवसायी र यात्रुका लागि मात्र नभई देशकै यातायात प्रणाली सुधारका लागि महत्वपूर्ण हुने उल्लेख गरे । 

कम्पनीले व्यावसायिक विद्युतीय सवारीसाधनलाई नेपालमा स्थापित गर्ने लक्ष्यसहित काम गरिरहेको र बिक्रीपछि सेवा प्रणालीलाई प्राथमिकतामा राखेको जनाएको छ । 

महानगर यातायात प्रालिले हाल काठमाडौं उपत्यका र बाहिर गरी १४० भन्दा बढी सवारीमार्फत सेवा दिइरहेको छ । कम्पनीले २८ सिटी बस र २४ माइक्रोबससहित ५२ विद्युतीय सवारी सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update