वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन्। 

विश्व वातावरण दिवस (जुन ५) २०२६ का अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले विकास  वातावरण एकापसमा परिपूरक भएको बताए ।

राष्ट्रपति पौडेलले भने, 'विकास र वातावरण एकापसका परिपूरक हुन् भन्ने अवधारणाबमोजिम हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई हार्दिक आह्वान गर्दछु ।'

राष्ट्रपति पाैडेलले भने, 'स्वच्छ ऊर्जाको प्रयोग, वृक्षरोपण, जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमताको विकास, प्राकृतिक सम्पदाको संरक्षणमार्फत हामी भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्न सक्छौँ ।' 

उनले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले आज विश्वसमुदायलाई गम्भीर चुनौती दिएको उल्लेख गर्दै जलवायु परिवर्तन भविष्यका लागि खतरामात्र नरहेर वर्तमान समयमा नै यसको प्रभाव देख्न सकिने बताएका छन्। 

राष्ट्रपति पौडेलले वातावरण संरक्षण, हरित विकास र जलवायु परिवर्तनको प्रभाव न्यून गर्ने कार्यप्रति सबै नागरिक समुदाय तथा सरोकारवाला निकायको सक्रिय सहभागिताका लागि दिवसले थप ऐक्यबद्धता र उत्साह प्रदान गरोस् भनी शुभकामना व्यक्त गरे । 

शुभकामना सन्देशमा भनिएको छ, 'प्रकृति र वातावरण मानव जीवनको आधार हो, स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजङ्गल र जैविक विविधताको संरक्षण गर्नु हाम्रो साझा अधिकार हो, नेपालमा पनि हिमाल पग्लिने, अनियमित वर्षा, बाढीपहिरो तथा वातावरणीय असन्तुलनजस्ता असरहरू देखिएका छन्, यस विशेष दिनले हामी सबैलाई वातावरण संरक्षणतर्फ सचेत, जिम्मेवार र सक्रिय बन्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।'

संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसका  रूपमा मनाउन थालिएको हो । 

यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ नाराका साथ विश्व वातावरण दिवस मनाइँदै छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update