काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले संसदको रोस्ट्रममै उभिएर नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरुले निरन्तर संसदमा प्रश्न उठाउँदै बैठक अवरोध गरिरहेका छन् ।
संसद खुलाउन सरकारले कुनै पहल नगरिरहेका बेला सबैभन्दा ठूलो सत्तारुढ दलको सभापतिका हैसियतमा लामिछानेले बैठक बोलाएका हुन् ।
संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुखको भूमिकामाथि समेत प्रश्न गर्दै आएका छन् ।
बैठक सार्वजनिक लेखा समितिको हल सिंहदरबारमा बस्नेछ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधिलाई सहभागी हुन आमन्त्रण गरिएको छ ।
प्रधानमन्त्रीको अभिव्यक्ति र प्रतिनिधि सभा नियमावली पारित गर्ने लगायतका विषयमा सभामुखले खेलेको भूमिकामाथि समेत विपक्षी दलहरुले प्रश्न गर्दै संसदका दुवै सदनमा अवरोध गरिरहेका छन् ।
पाँच दिन पछि सोमबार प्रतिनिधिसभाको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको बैठक बस्नु अघि नै सहमति खोज्नका लागि संसद्को ठूलो दलको हैसियतमा सभापति लामिछानेले बैठक राखेका हुन् ।





