अमेरिकाद्वारा इरानमा फेरि हमला, अमेरिकी फिफ्थ फ्लिटमा इरानको ड्रोन आक्रमण

एजेन्सी। अमेरिकी सेनाले मंगलबारराति फेरि इरानमाथि हमला गरेको छ । अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले स्ट्रेट अफ होर्मुज नजिकै अमेरिकी अपाचे हेलिकोप्टर खसालेपछि इरानमाथि हमला गरेको जनाएको छ । 

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले गस्ती गरिरहेको अमेरिकी सेनाको एएच–६४ अपाचे हेलिकोप्टरलाई इरानले खसालेको दाबी गरेका थिए । यो संसारकै सबैभन्दा अत्याधुनिक लडाकु हेलिकोप्टर मानिन्छ ।

उनले अमेरिकी सेनाका दुवै पाइलट सुरक्षित रहेको भन्दै यो हमलाको जवाफ दिने बताएको केही समयमै सेन्टकमले इरानमाथि हमला गरेको थियो । 

उता इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानी सेनाले हर हमलाको जवाफ दिने बताएका छन् । उनले भनेका छन्, ‘यदि सुरक्षित रहन चाहेको भए हाम्रो क्षेत्र छाड ।’ 

अमेरिकी सेनाले इरानमाथि हमला गरेलगत्तै इरानले पनि अमेरिकी सैनिक अड्डालाई निशाना बनाएको छ । 

इरानको इस्लामिक सेना रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी) ले बहराइनस्थित अमेरिकी नौसेनाको फिफ्थ फ्लिटमा ड्रोन हमला गरेको दाबी गरेको छ । 

आईआरजीसीले अमेरिकाले जास्क, सीरिक र केशम द्विपमा हमला गरेको समेत जनाएको छ । अमेरिकी हमलामा सिरिकमा एक सञ्चार टावरमा क्षति पुगेको छ भने दुई वटा पानीका ट्यांकी समेत क्षतिग्रस्त बनेका छन्। 

इरानले अमेरिकी सैन्य कारबाही जारी रहेमा जवाफ पनि जारी रहने र थप कडा कारबाही गर्ने चेतावनी दिएको छ । इरानले हमला गरेको बताए पनि अमेरिकी सेनाले बहराइनस्थित फिफ्थ फ्लिटमा हमला गरेको पुष्टि गरेको छैन । 

बहराइनमा तैनाथ अमेरिकी फिफ्थ फ्लिट पश्चिम एसियामा अमेरिकाको सबैभन्दा महत्वपूर्ण नौसैनिक अड्डा मानिन्छ । जसले फारसको खाडी, अरब सागर र होर्मुज स्ट्रेटजस्ता रणनीतिक समुद्री इलाकाको निगरानी गर्दै आएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update