काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालय अन्तरगतको मानवस्रोत विकास केन्द्रले केही विद्यालयहरुबाट विद्यार्थीका विवरणहरु वाहिरिएको भन्दै त्यसो नगर्न सचेत गराएको छ ।
केन्द्रले सबै विद्यालय तथा स्थानीय तहहरुलाई पत्राचार गर्दै सचेत गराएको हो ।
‘यस कार्यालयमा विद्यार्थीको नाम थर, जन्ममिति, सम्पर्क नम्बर तथा इमेल जस्ता नितान्त व्यक्तिगत विवरणहरू अनाधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध गराइएको र सोबाट विद्यार्थीहरूलाई मानिसक दबाब परेको भनी विभिन्न उजुरी तथा गुनासाहरू प्राप्त भएको सम्बन्धमा यस केन्द्रको गम्भीर ध्यानाकर्षण भएको व्यहोरा अनुरोध छ,’ केन्द्रले भनेको छ ।
केन्द्रले विद्यार्थीका विवरणहरु गोप्य राख्न पनि भनेको छ ।
‘अतः विद्यार्थीहरूको व्यक्तिगत विवरणको गोपनीयता, सुरक्षित शैक्षिक वातावरण तथा अनावश्यक प्रभावबाट संरक्षण गर्ने उद्देश्यले विद्यालयवाट कुनै पनि विद्यार्थीको व्यक्तिगत विवरण अभिभावकको स्वीकृती विना अनाधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन तथा यस्ता गतिविधि हुन नदिन आवश्यक सतर्कता अपनाउन अनुरोध छ,’ केन्द्रले विद्यालयहरु तथा स्थानीय तहहरुलाई लेखेको पत्रमा उल्लेख छ ।





