ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडाैं। ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । 

समूह ‘सी’ अन्तर्गत मियामी स्टेडियममा आज बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । तीन खेलमा ब्राजिलको ७ अङ्क छ । 

समान ७ अंक रहेको मोरक्को हेड टु हेडअनुसार उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । 

एटलान्टा स्टेडियममा भएको खेलमा मोरक्कोले हाइटीलाई ४–२ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । 

स्कटल्यान्डमाथि सहज जित निकाल्दा ब्राजिलका भिनिसियस जुनियरले दुई गोल गरे भने मथेउस कुन्हाले एक गोल थपे । 

भिनिसियसले खेलको सातौं मिनेटमा गोल गर्दै ब्राजिलाई पहिलो अग्रता दिलाएका थिए । 

त्यसैगरी भिनिसियसले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । 

खेलको ६०औँ मिनेटमा कुन्हाले गोल गरेपछि बाज्रिल ३–० ले अघि बढ्यो । त्यसपछि खेलमा थप गोल हुन सकेन र ब्राजिल समूह बिजेता बन्दै अन्तिम–३२ मा पुगेको हो। 

यससँगै समूह सी बाट स्कटल्यान्ड र हाइटी विश्वककपबाट बाहिरिएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update