पाराग्वे प्रिक्वाटरफाइनलमा, पेनाल्टी सुटआउटमा जर्मनी पराजित

काठमाडौं । चार पटकको विश्वकप विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै पाराग्वे फिफा विश्वकप २०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । 

अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान सम्पन्न राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडनडेथमा ४–३ ले स्तब्ध पारेको हो । 

जर्मनी विश्वकपमा पेनाल्टी सुटआउटमा पहिलो पटक पराजित भएको हो । योसँगै पाराग्वेले सन् २००२ को विश्वकपमा जर्मनीसँग ब्येहोरेको हारको बदला समेत लिएको छ । 

निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । जारी विश्वकपमा पेनाल्टीसुटआउटबाट निर्णय भएको यो पहिलो खेल हो ।

पाराग्वेले क्वाटरफाइनलमा प्रवेशका लागि फ्रान्स र स्वीडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पेनाल्टी सुटआउटमा पाराग्वेका लागि माउरिसियो, गोस्ताभो गोमेज, माथियस गालार्जा र जोस कालानेले गोल गरे । 

जर्मनीका लागि कप्तान जोसुअ किमिच, जमाल मुसिएला र नादिएम अमेरिकीले गोल गरे । 

काइ हाभार्ट्ज र निक वाल्टमेडको पेनाल्टी पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले बचाए भने जोनाथन ताहको प्रहार पोस्टभन्दा माथि उडेको थियो।

सुरुवाती पाँच पेनाल्टीमा दुवै टिमले ३–३ गोल गरेपछि छैटौं पेनाल्टी प्रहार गरेका जर्मनीका ताहको प्रहार पोस्टमाथिबाट बाहिरियो । त्यसपछि जोसे कानालेले पाराग्वेका लागि निर्णायक पेनाल्टी प्रहार गर्दै टोलीलाई अन्तिम–१६ मा पुर्‍याए।

त्यसअघि जुलियो इनसिसोले ४२औं मिनेटमा गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए भने काई हाभार्टले ५४औं मिनेटमा जर्मनीका लागि बराबरी गोल फर्काएका थिए । 

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जितेयता जर्मनी २ पटक समूह चरणबाटै बाहिरियो भने यसवर्ष नकआउटमा पुगे पनि पहिलो खेलमै पराजित भएर बाहिरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update