काठमाडौं। फ्रान्स र नर्वे विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्।
विश्वकप अन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको हो ।
अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित गर्यो ।
फ्रान्सको जितमा खेलको ४५औं र ७४औं मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औं मिनेटमा ब्राडली बारकोलाले गोल गरे । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ ।
यस्तै गएराति भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ ।
अमेरिकाको डलास रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्यो । नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गरे ।
खेलको ७४औं मिनेटमा आइभरी कोस्टका लागि अमाद डियाल्लोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८६औं मिनेटमा एर्लिङ हल्याण्डले गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै पनि गोल भएन र नर्वे अन्तिम १६ मा पुग्यो । अब अन्तिम १६ मा नर्वेले ब्राजिलको सामना गर्नेछ ।





