हेटौंडा । केही वर्षअघिसम्म हेटौँडा उपमहानगरपालिका–१२ घलेगाउँकी ३८ वर्षीया श्रीया गुरुङको दैनिकी अधिकांश ग्रामीण नेपाली महिलाको जस्तै थियो । बिहान सबेरैदेखि घरधन्दा, परिवारको हेरचाह, पशुपालन र खेतबारीको काममा दिन बित्थ्यो ।
दिनभर काम गरे पनि आफ्नो नाममा आम्दानी भने थिएन । परिवारको खर्च धान्न श्रीमान्को कृषि आम्दानी भर पर्नुपर्थ्यो। एउटी छोरीको भविष्य, घरखर्च र बढ्दो आर्थिक दायित्वले उहाँलाई सधैँ चिन्तित बनाइरहन्थ्यो ।
'आफ्नो कमाईको एक रुपैयाँ पनि थिएन,' श्रीया विगत सम्झँदै भन्छिन्, 'भविष्यको चिन्ता त धेरै थियो, तर सम्भावना भने केही थिएन । गाउँमै केही गरौं भन्ने सोच थियो, तर कसरी सुरु गर्ने भन्ने आधार थिएन ।'
गाउँघरमा हरेक वर्ष बनाइने गुन्द्रुक उनका लागि घरायसी परिकार मात्र थियो । हिउँदका लागि साग जोगाउने परम्परागत तरिकाभन्दा बाहिर गएर कोही कसैले पनि व्यवसायको रूपमा हेरेको थिएन । त्यसैले गुन्द्रुकले नै आफ्नो जीवन बदल्न सक्छ भन्ने कल्पना उनले कहिल्यै गरेनन्।
'हामीलाई त गुन्द्रुक बेचेर पनि उद्यमी बन्न सकिन्छ भन्ने लागेको नै थिएन,' उनी भन्छिन्, 'यो सपना देखाउने काम ग्रिन फाउन्डेसन नेपालले गर्यो, र त्यो सपनालाई व्यवहारमा उतार्ने वातावरण हेटौँडा उपमहानगरपालिकाले बनाइदियो ।'
ग्रिन फाउण्डेसन नेपालले तालिम र सामग्री हस्तान्तरणसहित सुरु गराएको उद्यममा हेटौँडा उपमहानगरपालिकाले सञ्चालन गरेको सीपमूलक तालिम, प्रारम्भिक आर्थिक सहयोग र उद्यम सञ्चालनसम्बन्धी परामर्शले श्रियाको सोच परिवर्तन गरिदियो ।
त्यसपछि उनले गाउँका अन्य महिलासँग मिलेर कञ्चनजङ्घा कृषि सहकारी संस्था लघु उद्यमी उद्योग स्थापना गरे।
सुरुआत भने निकै सामान्य थियो । उद्योगमा संलग्न महिलाले वार्षिक प्रतिकट्ठा एक हजार ५ सयका दरले १५ कट्ठा जग्गा भाडामा लिए ।
आफ्नै पसिना बगाएर रायोको साग लगाइयो र त्यसबाट ‘अर्ग्यानिक’ गुन्द्रुक उत्पादन सुरु भयो । तर उत्पादन सुरु गर्नु जति चुनौतीपूर्ण थियो, बजार खोज्नु त्योभन्दा कठिन बन्यो ।
पहिलो वर्ष खेतमा मिहिनेतको कमी भएन । राम्रो उत्पादन भयो । तर बजारले ढोका खोलेन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको सरकारी अनुज्ञापत्र नहुँदा उत्पादन बजारसम्म पुर्याउन सकिएन ।
लाखौँ रुपैयाँ बराबरको गुन्द्रुक गोदाममै थन्कियो । बिक्री नहुँदा लगानी डुब्ने चिन्ता र भविष्यप्रतिको अन्योलले धेरै रात निद्रा हरायो ।
'कति दुःख गरेर उत्पादन गर्यौँ, 'उनी सम्झन्छिन्, 'तर बेच्न नपाउँदा मन नै खिन्न हुन्थ्यो । मेहनत खेर जाने हो कि भन्ने डर लाग्थ्यो । तर हामीले हार मानेनौँ ।'
त्यही धैर्यले अन्ततः फल दियो । हेटौंडा उपमहानगरपालिकाको सहजीकरणमा उत्पादनले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट सरकारी अनुज्ञापत्र प्राप्त गर्यो । सरकारी मान्यता पाएपछि उत्पादनप्रति बजारको विश्वास बढ्यो ।
व्यवसायी आफैँ सम्पर्कमा आउन थाले । ‘अर्डर’ बढ्न थाल्यो र बिक्रीको बाटो खुल्यो ।
'पहिले बिक्री नहोला कि भन्ने डर थियो,' श्रिया मुस्कुराउँदै भन्छिन्, 'अहिले त मागअनुसार उत्पादन नपुग्ला कि’ भन्ने चिन्ता छ ।'
अहिले समूहलाई यस वर्षको उत्पादन मात्र होइन, आगामी वर्षका लागि आएको मागसमेत पूरा गर्न भ्याइनभ्याइ छ ।
सुरुमा ११ जना रहेको समूह अहिले २० सदस्यीय बनेको छ । खेती विस्तार हुँदै गएको छ । हाल ३० कट्ठा जग्गामा खेती भइरहेको छ ।
निकट भविष्यमा ५० कट्ठासम्म विस्तार गर्ने योजना छ । उत्पादन बढेसँगै आगामी दिनमा ५० जनाभन्दा बढी स्थानीय महिलालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य पनि समूहले लिएको छ ।
उत्पादित गुन्द्रुक मकवानपुर, सिन्धुली र काठमाडौँमा बिक्रीका लागि जाने गरेको छ । अहिले माग पूरा गर्न हम्यहम्य परेको उनको भनाइ छ ।
उत्पादनलाई वर्षभरि निरन्तरता दिन समूहले ६ महिनासम्म अर्ग्यानिक गुन्द्रुक उत्पादन गर्छ भने बाँकी समय विभिन्न प्रकारका अचार उत्पादन गर्छ । अर्को एक संस्थाको प्राविधिक सहयोगमा अचार प्रशोधन, प्याकेजिङ र बजारीकरणको काम भइरहेको छ ।
समूहले करिब ३ सय किलोग्राम अचार उत्पादन गरेको छ । प्रतिकिलोग्राम एक हजारका दरले बिक्री गर्दै आएको छ । यसबाट एक उत्पादन चक्रमै करिब तीन लाख बराबरको कारोबार हुने गरेको छ ।
गुन्द्रुकको बजार पनि निरन्तर विस्तार भइरहेको छ ।
समूहले उत्पादन गरेको ‘अर्ग्यानिक’ गुन्द्रुक अहिले प्रतिकिलोग्राम ८ सयमा बिक्री हुन्छ ।
स्थानीय बजारसँगै अन्य जिल्लाबाट पनि माग आउन थालेको छ । अर्ग्यानिक गुन्द्रुक केबल नेपाली भान्साको परम्परागत स्वाद मात्र होइन, पोषणले भरिपूर्ण खाद्य पदार्थ पनि हो ।
गुन्द्रुकमा फाइबर, आइरन, क्याल्सियम पाइन्छ । यसले पाचन प्रणालीलाई सहज बनाउन, आन्द्राको स्वास्थ्य सुधार गर्न र शरीरलाई आवश्यक पोषक तत्व उपलब्ध गराउन सहयोग गर्ने विश्वास गरिन्छ ।
पछिल्ला वर्षमा रसायनमुक्त तथा अर्ग्यानिक खाद्य पदार्थप्रति उपभोक्ताको आकर्षण बढेसँगै यसको माग पनि बढ्दै गएको छ ।
यही परिवर्तनले ग्रामीण महिलाले उत्पादन गरेका परम्परागत खाद्यवस्तुको बजारीकरण भएको छ ।
श्रियाको जीवनमा आएको परिवर्तन केबल आर्थिक मात्रै छैन । उनको आत्मविश्वास, सामाजिक पहिचान र निर्णय गर्ने क्षमता पनि बढेको छ ।
पहिले घरखर्चका लागि श्रीमानको आम्दानीमा निर्भर रहनुपर्ने उनी अहिले आफ्नै आम्दानीबाट परिवार चलाउन, छोरीको शिक्षामा लगानी गर्न र समूहका अन्य महिलालाई नेतृत्व गर्न सक्षम भएकी छन्।
'घरमै बसेर केही हुँदैन भन्ने सोच बदलिएको छ,' उनी भन्छन्, 'अवसर, सीप र बजार पाए गाउँका महिलाले पनि धेरै गर्न सक्छन् भन्ने प्रमाण हामीले दिएका छौँ ।'
हेटौँडा उपमहानगरपालिकाको करिब एक लाख र सहकारीको ८० हजार प्रारम्भिक लगानीबाट सुरु भएको यो उद्यम आज ग्रामीण महिलाको आर्थिक रूपान्तरणको उदाहरण बनेको छ ।
परम्परागत रूपमा घरभित्र सीमित रहेको गुन्द्रुकलाई व्यवसायमा रूपान्तरण गर्दै महिलाले आफ्नै गाउँमा रोजगारी सिर्जना गरेका छन् ।
यसले स्थानीय कृषि उत्पादनको मूल्य बढाएको छ भने महिलाको श्रमलाई प्रत्यक्ष आम्दानीसँग पनि जोडेको छ ।
हेटौँडा उपमहानगरपालिका धेरै गृहिणी अहिले साना तथा घरेलु उद्यम सञ्चालन गरेर आत्मनिर्भर बन्दै गएका छन् । कसैले अर्गानिक गुन्द्रुक उत्पादन गरिरहेका छन्, कसैले अचार, धूप, दालमोठ, हस्तकला, बेसार तथा अन्य स्थानीय उत्पादनलाई व्यवसायमा रूपान्तरण गरेका छन् ।
यसले महिलाको आयआर्जन बढाउनुका साथै स्थानीय स्रोत, सीप र परम्परागत ज्ञानलाई पनि आर्थिक मूल्यसँग जोड्न सफल भएको छ ।
एक समय आफ्नो परिवारको भविष्यबारे चिन्तित रहने श्रिया आज अरू महिलाका लागि प्रेरणाको स्रोत बनेकी छन्।
उनको कथा केबल एउटा गुन्द्रुक उद्योगको सफलता होइन, अवसर, सीप, स्थानीय सरकारको सहयोग र महिलाको आत्मविश्वास एकसाथ जोडिँदा गाउँमै बसेर पनि सम्मानजनक जीवन र दिगो आम्दानी सम्भव हुन्छ भन्ने जीवन्त उदाहरण हो ।





