गोरखा। गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामुहिक दुर्घटना बिमा गरेको छ ।
नगरभित्रका विद्यालयमा अध्ययनरत चार हजार ५८२ जना विद्यार्थीको दुर्घटना बिमा गरिएको नगरप्रमुख विवस चिन्तनले जानकारी दिए ।
'विद्यार्थीको स्वास्थ्य सुरक्षा र दुर्घटनाबाट हुनसक्ने आर्थिक जोखिमलाई ध्यानमा राखेर सामुहिक बिमा कार्यक्रम सुरु गरिएको हो,' उनले भने, 'यसबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी लाभान्वित हुनेछन् ।'
विद्यार्थीलाई बिमाको दायरामा ल्याउन नगरपालिका र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सबीच सम्झौता भएको नगरप्रमुख चिन्तनले बताए।
नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सम्भावित दुर्घटना र त्यसबाट पर्नसक्ने आर्थिक जोखिम न्युनीकरणका लागि बिमा कार्यक्रम लागू गरिएको स्पष्ट पारेको छ ।
यसबाट सामुदयिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन मद्दत पुग्ने नगरप्रमुख चिन्तनको भनाइ छ ।





