काठमाडौँ । घरगाउँमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्राण्डिङ र बजारीकरण गरिएको छ । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीस्थित आदानप्रदान कृषि सहकारी संस्था लिमिटेडले पिठो प्रशोधन, ‘लेबलिङ’ तथा ‘प्याकेजिङ’ गरी बिक्रीवितरण सुरु गरेको हो ।
किसानले उत्पादन गरेको कोदो र फापरलाई प्रशोधन गरी गुणस्तरीय प्याकेजिङसहित बजारमा ल्याइएको सहकारीका अध्यक्ष नन्दलाल पाध्यायले बताए ।
जिल्ला कृषि विकास कार्यालयको ७५ प्रतिशत अनुदान सहयोगमा उपकरण पाएपछि सहकारीले ‘लेबलिङ’ तथा ‘प्याकेजिङ’को काम सुरु गरेको उनको भनाइ छ ।
स्थानीय उत्पादनको बजारीकरणसँगै किसानलाई आयआर्जनसँग जोड्न पिठोलाई ब्राण्डिङ गरिएको अध्यक्ष पाध्याले बताए । सहकारीले फापरको पिठो प्रतिकिलो २६० र कोदोको पिठो प्रतिकिलो १६० रुपैयाँ निर्धारण गरेको छ ।
पहिलो चरणमा ५० किलो कच्चा पदार्थबाट पिठो उत्पादन, प्रशोधन र प्याकेजिङ सुरु गरिएको जनाइएको छ । उक्त काममा सहकारीका दुई कर्मचारीसहित पदाधिकारी र सदस्यसमेत आफैँ खटिने गरेका छन् । कोदो र फापर खेतीको अवस्था र बजार मागलाई हेरेर उत्पादनलाई थप वृद्धि गर्दै लैजाने योजना रहेको अध्यक्ष पाध्याले बताए ।
बजारमा आउने तयारी वस्तुको तुलनामा स्थानीय उत्पादनको लागत बढी हुनाले बजार व्यवस्थापन नै मुख्य चुनौतीका रूपमा रहेको उनको भनाइ छ । स्वादिष्ट र स्वास्थ्यवद्र्धक हुने भएकाले स्थानीय उत्पादनतिर उपभोक्ताको आकर्षण बढ्ने सहकारीको विश्वास छ ।




