काठमाडौँ । बागलुङको जैमिनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपभोग, स्वामित्व र सहभागिता, पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा तथा प्रमाणीकरण गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका संयोजक अमरबहादुर थापाले पूर्णखोप सुनिश्चितता घोषणा गर्नुहुँदै यसलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा पालिकालाई पूर्णखोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख थापाले जैमिनी नगरपालिका प्रमुख नरबहादुर पुनलाई हस्तान्तरण गरे ।
सबै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख गोविन्दप्रसाद शर्माले जानकारी दिए ।
नगरपालिकाले दिगोपना र पूर्णखोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेरअनुसार खोप पाएनपाएको एकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाखमा खोप दिने व्यवस्था गरेको छ । वडास्तरीय खोप समन्वय समितिले बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्णखोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।
खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्णखोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।
नगरका १५ महिना उमेर समूहका ३१३ जना नियमित खोप लगाइरहेका र १६ देखि २३ महिना उमेर समूहका २२६ जनालाई खोप दिएपछि नगर पूर्णखोप सुनिश्चित बनेको स्वास्थ्य शाखा प्रमुख शर्माले बताए ।