
काठमाडौँ । झापाको कमल गाउँपालिकाका मात्र ८.३६ प्रतिशत नागरिक वैदेशिक रोजगारीमा गएको एक तथ्यांकले देखाएको छ । यो भनेको १०० जना मानिसमध्ये ८ जनाभन्दा वढी विदेशमा रोजगारीका लागि हुनु हो ।
गाउँपालिकाले गरेको आप्रवासन तथा पुनःएकीकरण बस्तुस्थिति विवरण सर्वेक्षण अनुसार यो पालिकाबाट विद्यावारिधि गरेका व्यक्तिसमेत वैदेशिक रोजगारीका लागि विदेशमा पुगेको देखाएको छ भने यो पालिकाका बाहुन समुदायका व्यक्तिहरु सबैभन्दा वढी वैदेशिक रोजगारीमा गएको देखिएको छ ।
गाउँपालिकाको जम्मा ५३ हजार ८९४ जना छ । जसमध्ये पुरुष २५ हजार ४२६ जना र महिला २८ हजार ४६८ छन् । गाउँपालिकाबाट जम्मा ४ हजार ५०५ जना व्यक्तिहरु वैदेशिक रोजगारमा गएका छन् । यो भनेको कुल जनसंख्याको ८.३६ प्रतिशत मानिस बैदेशिक रोजगारीमा पुग्नु हो ।
ती मध्ये १५ दशमलव २७ प्रतिशत महिला छन् भने बाँकी ८४ दशमलव ७३ प्रतिशत पुरुष छन् । वडागत रुपमा हेर्दा सबैभन्दा बढी वडा नम्बर २ र सबैभन्दा कम वडा नम्बर ३ बाट वैदेशिक रोजगारमा गएका छन् ।
वैदेशिक रोजगारमा गएकामध्ये ४७ दशमलव ८ प्रतिशत २५ देखि ३५ वर्ष उमेर समूहका युवाहरु छन् भने ३५ देखि ४५ वर्ष उमेर समूहका ३३ दशमलव ३ प्रतिशत छन् । १८ देखि २४ वर्ष उमेर समूहका ११ दशमलव ४ प्रतिशत छन् । नेपाल सरकारको कानुन बमोजिम १८ वर्षमुनिका मानिसले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति पाउँदैनन् ।
यो गाउँपालिकाबाट सबैभन्दा वढी मानिस खाडी मुलुकमा बैदेशिक रोजगारीमा पुगेको तथ्यांकले देखाएको छ । पालिकाले गरेको अध्ययन प्रतिवेदन अनुसार मलेशियामा ६७८ जना, खाडी मुलुक (साउदी अरेविया, कतार,यु.ए.ई., कुवेत, बहराइन र ओमन) मा ३०७३ जना, कोरियामा १६२ जना र अमेरिका युरोप लगायतका अन्य देशमा ५०२ जना काम गर्नका लागि विदेशिएका छन् ।
वैदेशिक रोजगारमा एक पटक गएर फर्किए पछि पुनः दोह¥याएर जानेको संख्यासमेत ठूलो देखिएको छ । विेदश पुगेका ४ हजार ५०५ जनामध्ये २ हजार २४३ जना पहिलो पटक वैदेशिक रोजगारमा गएका छन् भने दोश्रो पटक जाने १ हजार ४२८ जना, तेस्रो पटक जाने ६३० जना र चौथो वा सोभन्दा बढी पटक जाने २०४ जना छन् ।
गाउँपालिकाबाट ४५ वटा जातजातिका व्यक्तिहरु बैदेशिक रोजगारमा गएको पाइएको छ । वैदेशिक रोजगारमा सवैभन्दा वढी क्षेत्री जातिका छन् । यो जातिका २५ दशमलव २६ प्रतिशत छन् भने यसलाई पछ्याउँदै बाहुन २० दशमलव २९ प्रतिशत छ ।
वैदेशिक रोजगारमा गएका व्यक्तिको शैक्षिक अवस्था भने निकै कमजोर देखिन्छ । अधिकांश व्यक्ति एसइई, वा सो भन्दा तल्ला कक्षहरु पढेका विदेश गएका छन् । पालिकाले गरेको सर्वैक्षण अनुसार पिएचडी गरेका ३ जना व्इक्तिसमेत रोजगारीका शिलशिलामा विदेशमा छन् । स्नातकोत्तर गरेका ५८ जना, स्नातक गरेका २८० जना र प्लस टु पास गरेका ८०५ जना हाल बिदेशमा छन् । पालिकाले यो तथ्यांकमा वैदेशिक अध्ययनका लागि गएकालाई समेत समेटेको जनाएको छ ।
८४ प्रतिशत मानिस मात्र म्यानपावर कम्पनी मार्फत विदेश गएका छन् भने एजेन्टबाट ६ दशमलव ७ प्रतिशत गएका छन् । यसैगरी आफन्त मार्फत २ दशमलव ३७ प्रतिशत, व्यक्तिगत २ दशमलव ५३ प्रतिशत र सरकारका माध्ययबाट ४ दशमलव ११ प्रतिशत मानिसहरु वैदेशिक रोजगारमा गएका छन् ।
गाउँपालिकाबाट वैदेशिक रोजगारमा जानेहरु अधिकतम विवाहित छन् । विवाहित हुनेमा ७३ दशमलव ९४ प्रतिशत छन् भने अविवाहित २३ दशमलव २४ प्रतिशत रहेका छन् । यतिसम्मकी बैदेशिक रोजगारी कै कारण २२ जना पुरुष र १४ महिलाको सम्बन्ध बिच्छेद भइ दोस्रो विवाह समेत गरिसकेको पालिकाको अध्ययन तथ्यांकले देखाउँछ ।
बैदृशिक रोजगारीबाट कमल गाउँपालिकामा एक वर्षमा १ अर्ब ४ करोड १६ लाख ७६ हजार ९५५ रुपयाँ रकम रेमिट्यान्स स्वरुप प्राप्त भएको छ । विगत १ वर्षको समयावधिमा ६५ दशमलव ५७ प्रतिशतले घर परिवारले मात्र रकम पठाएका छन् भन बाँकीले सो अवधिमा रकम नै पठाएका छैनन् ।
वैदेशिक रोजगारबाट प्राप्त रकमको खर्चलाई हेर्दा सबैभन्दा बढी ऋण तिर्नमा भएको पाइएको छ । जसमा ४२ दशमलव ७७ प्रतिशत ले ऋण तिरेका छन् भने दैनिक उपभोगमा १६ दशमलव २२ प्रतिशत खर्च भएको छ । यसैगरी घरायसी सम्पत्तिमा १५ दशमलव २९ प्रतिशत, स्वास्थ्यमा ७ दशमलव ८७ प्रतिशत, शिक्षामा ८ दशमलव ९६ प्रतिशत र अन्यमा २ दशमलव १४ प्रतिशत खर्च गरेका छन् । कूल रेमिट्यान्समा ५ दशमलव ७९ प्रतिशत रकम मात्र बचत भएको देखिएको छ ।
वैदेशिक रोजगारबाट विगत १ वर्षमा प्राप्त रकमबाट ६२३ जनाले घडेरी किनेको पाइएको छ । सो घडेरी ५८४ आफ्नै पालिका क्षेत्रमा किनेको पाइएको छ । पालिका नजिकैको ठाँउमा घडेरी किन्ने ६० जना र जिल्ला सदरमुकाममा घडेरी किन्ने ९ जना भेटिएका छन् ।