काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । सो प्रदर्शनका कारण देशको प्रकाशनिक केन्द्र सिंहदरबार, सर्वाेच्च अदालत, संसद भवनसहित देशभरका ठूलो संख्यामा सरकारी, सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भयो ।
जेनजी प्रदर्शनका नाममा भएको अराजक गतिविधिका कारण नेपाल केही दिनको लागि राज्य विहिनको अवस्थामा जस्तै पुग्यो । भय र आतंकको उच्चतम अवस्था सिर्जना भयो ।
प्रदर्शनकारीले सार्वजनिक पद धारण गरेका व्यक्ति र राजनीतिक दलका नेतामाथि भौतिक आक्रमण पनि गरे । उनीहरुको निजी सम्पत्ति तोडफोड, लुटपाट र आगजनी पनि गरेका थिए ।
यो क्रम देशभर चल्यो । केन्द्रीय नेता र पदाधिकारीदेखि स्थानीय तहका नेता र पदाधिकारीमाथि भौतिक आक्रमण र सम्पत्ति लुटपाट, तोडफोड र आगजनी गरियो ।
यही आतंकको समयमा केही स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्षहरुले राजीनामा गरेको सार्वजनिक घोषणा गरेका थिए । सो क्रममा एउटा गाउँपालिकाका अध्यक्ष र २ वटा गाउँपालिकाका उपाध्यक्षले राजीनामाको घोषणा गरेका थिए ।
उनीहरुले घोषणा गरेको राजीनामा स्वीकृत भएको अवस्थामा सो रिक्त स्थानमा फेरि निर्वाचन गर्नुपर्ने हुन्छ । निर्वाचनको लागि निर्वाचन आयोगले तयारी अघि बढाउनु पर्ने हुन्छ । यसैकारण वडापालिकाले पहिलो चरणमा सम्बन्धित पालिकाका सम्बन्धित व्यक्तिसँग सम्पर्क गरी तपाईंले घोषणा गर्नुभएको राजीनामा स्वीकृत भयो कि भएन भनेर सोधको छ ।
हामीले सम्पर्क गरेका तीनवटै गाउँपालिकाले राजीनामा घोषणा गरेका अध्यक्ष र उपाध्यक्षहरु नियमित कार्यालयमा उपस्थित भइरहेको जानकारी प्राप्त भएको छ । ती पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले पनि राजीनामा घोषणा गरेका जनप्रतिनिधिहरु कार्यालय आइरहेको जानकारी दिए ।
‘फेसबुकमा राजीनामा घोषणा गर्नुभएको थियो, पछि अवस्था सामान्य हुँदै गएपछि उहाँको फेसबुकमा पनि राजीनामा घोषणा गरिएको देखिदैन । फेरि फेसबुकमा राजीनामा घोषणा गरेर राजीनामा हुने पनि होइन, त्यसको पनि बेग्लै प्रक्रिया छ । त्यसैले राजीनामा दिएको होइन, अहिले कार्यालय आइरहनु भएको छ,’ जनप्रतिनिधिले राजीनामा घोषणा गरेका एक पालिका प्रमुख प्रशासकीय अधिकृतले वडापालिकासँग भने ।
जेनजी आन्दोलनका क्रममा झापाको कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने, मोरङको कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारीसहित ३ जना वडाध्यक्षहरु र कैलाली जिल्लाको कैलारी गाउँपालिकाका अध्यक्ष राज समझ चौधरीले राजीनामा घोषणा गरेका थिए ।





