Odapalika - The Fourth Estate - चौथो अंग
खिजिदेम्बा गाउँपालिकामा किन आउँदैछन् ६ देशका खेलाडी ? 

काठमाडौँ । ग्रामीण पर्यटन प्रवर्द्धनका लागि ओखलढुङ्गाको थोलेदेम्बा डाँडामा ‘गल्फ महोत्सव’ हुने भएको छ । ३ हजार ३५० मिटर उचाइमा रहेको जिल्लाकै अग्लो भाग देम्बाडाँडामा पर्यटन विकास गर्ने उद्देश्यले राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय खेलाडीले भाग लिनेगरी गल्फ महोत्सव आयोजना गर्न लागिएको हो ।  

खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले नयाँ वर्षको अवसरमा वैशाख १ र २ गते देम्बाडाँडा र समग्र जिल्लाको पर्यटन विकाससँग जोडेर गाउँपलिकाले महोत्सव आयोजना गर्न लागेको बताए । उनका अनुसार महोत्सवमा अमेरिका, बेलायत, क्यानडा, कोरिया र भुटानलगायत ६ देशका खेलाडी सहभागी हुनेछन् । 

नेपालका विभिन्न जिल्लाबाट खेलाडीको सहभागिता रहने अध्यक्ष शेर्पाले जानकारी दिए । पालिकाले गल्फका लागि पूर्वाधार विकास गरेर प्रतियोगितासहितको महोत्सव आयोजना गरेको उनको भनाइ छ । 

पालिकाले केही समयअघि गल्फ प्रतियोगिता सञ्चालनका लागि विज्ञद्वारा सम्भाव्यता अध्ययनसमेत गरेको थियो । गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि एक महिनाअघि तीनदिने जातीय पहिचानसहितको सास्कृतिक महोत्सव आयोजना गरिएको थियो । 

अध्यक्ष शेर्पाले विभिन्न चार वटा पर्यटन रुट निर्माण, ट्रेक एण्ड गल्फ अवधारणा, अल्ट्रा रेस म्याराथन, साइक्लिङ प्रतियोगिता आयोजना र रक क्लाइम्बिङसमेतका लागि पूर्वाधार विकास गरिएको बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update